१२ जेठ, काठमाडौं।

आफ्नो नेतृत्वमा सहमतीय सरकार गठनका लागि नेपाली कांग्रेसले आजबाट पहल गर्ने भएको छ । राष्ट्रपतिले एक साताको समय दिएर सहमतिय सरकार गठनका लागि आह्वान गरेपछि कांग्रेसले त्यसमा पहल गर्न लागेको हो ।

पार्टी सभापति शेरवहादुर देउवाको नेतृत्वमा सरकार गठन प्रक्रिया अघि बढाउने विषयमा छलफल गर्न कांग्रेसले आज पदाधिकारी बैठक बोलाएको छ । पार्टी केन्द्रिय कार्यालय सानेपा ललितपुरमा बस्ने बैठकमा सहमतीय सरकार गठनका लागि प्रमुख दलसँग छलफल अघि बढाउने विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

आलोपालो सरकारको नेतृत्व गर्ने माओवादी केन्द्र र नेपाली कांग्रेसबीचको भद्र सहमति अनुसार भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले पदत्याग गरेकाले सहमतिय सरकार गठन हुने सम्भावना भने न्युन रहेको छ । सहमतीय सरकार बनाउन प्राप्त सात दिनको समयपछि संसदमा हुने मतदानको आधारमा बहुमतको नयाँ सरकार गठन हुने सम्भावना छ ।

मतदानमा कांग्रेस र माओवादी गठबन्धनले कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सार्ने तयारी गरेको छ ।