७ साउन, काठमाडौं ।
दुई वर्षदेखि नाताले काका पर्ने तनहुँ, दमौलीका ४२ वर्षीय डम्बरबहादुर अधिकारीबाट बलात्कृत हुँदै आएकी चितवनकी १८ वर्षीया सविना गौतम (परिवर्तित) ले ठूलो आँट गरेर ललितपुर प्रहरीमा उजुरी दिइन् ।

कतारमा कार्यरत डम्बर असार ३१ गते नेपाल फर्कंदै थिए, असार २४ गते उजुरी दर्ता भयो, महानगरीय प्रहरी परिसर, ललितपुरमा ।

अरु बेलाझैं उनले त्यसदिन पनि भतिजीबाट यौनप्यास मेट्ने योजना बनाएका थिए । सबिनाले सबै कुरा प्रहरीलाई जानकारी गराइन् ।

असार ३१ गते राति १० बजे डम्बरले सविनालाई आफन्तको घरबाट ललितपुर, मानभवनस्थित एक होटलमा पुर्याए । राति १ बजे डम्बर सविनामाथि उही कर्तुत दोहोर्याउँदै थिए, प्रहरी पुगे र रंगेहात पक्राउ गरे । डम्बर अहिले अनुसन्धान क्रममा ललितपुर प्रहरीकै हिरासतमा छन् । उनीविरुद्द जवरजस्ती करणीको मुद्दा दर्ता गरिएको छ, ललितपुर जिल्ला अदालतमा ।

घरझगडाका कारण उनका आमाबाबु छुट्टिए । बाबुले अर्को विवाह गरे । कान्छी आमा र बाबु दुवैले उनीप्रति ध्यान पुर्याउन छाडे । बाबु कमाउन दुबई गए ।

आरोपित डम्बर पनि कामको सिलसिलामा कतार थिए । उनले त्यहाँबाट सविनालाई फोन गरे र सहर राखेर पढाइदिने इच्छा व्यक्त गरे । आजको नागरिकमा खबर छ ।