१९ असार, काठमााडौं ।

पहिलो चरणको निर्वाचनमा पहिलो पटक चुनाव लडेको रविन्द्र मिश्र नेतृत्वको साझा पार्टीले काठमाडौं र ललितपुर महानगरपालिकामा निक्कै राम्रो प्रभाव छोड्न सफल भयो । जनताको मत पनि जित्यो, मन पनि जित्यो ।

ठूला भनिएका दल कांग्रेस, एमाले र राप्रपालाई समेत आच्छुआच्छु पार्यो । त्यही उत्साह र उमंगका साथ साझा पार्टीले सुनसरीको इटहरी उपमहानगरपालिकामा मेयर र उपमेयरमा उम्मेदवारी दियो तर परिणाम निरासाजनक !

झण्डै डेढ दशक सकृय पत्रकारिता गरेका प्रकाशचन्द्र परियार मेयरमा र तारा काफ्लेले उमपेयरमा उम्मेदवारी दिएका थिए । तर परिणाम प्रति उनीहरुको कुनै चासो छैन, आश पनि छैन ।

झण्डै १६ हजार मत गणना भइसक्दा साझा पार्टीका दुबै उम्मेदवारले १०० मत कटाउन सकेनन । यो परिणामले देखाउँछ साझा पार्टी दोस्रो चरणको निर्वाचनमा निरिह सावित भएको छ ।

जनताको मन जित्यौं, मत कांग्रेस एमालेले जिते
उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका परियारले सोचे जस्तो परिणाम आउन नसके पनि निरास नरहेको प्रतिकृया दिए । नेपाली हेडलाइन्ससँग कुरा गर्दै परियारले भने, ‘तुलनात्मक रुपमा नराम्रो मानेको छैन, हाम्रो कतै पनि प्रभाव क्षेत्र थिएन, मतका आधारमा हेर्दा जनमन जित्यौं, जनमत कांग्रेस–एमालेले जिते ।

चुनाव चिन्ह पाएको ४ दिनमा चुनाव लड्न पर्दा करिव २ लाख जनसंख्या र ७५ हजार मतदाता रहेको इटहरिमा सबै ठाउँमा पुग्नै नसकेकाले पनि परिणाम सोचे अनुसार आउन नसकेको उनको भनाई थियो । त्यसमाथि मेयर र उपमेयर फरक फरक चुनाव चिन्ह लिएर जाँदा पनि मतदाता सामू पुर्याउनै नसकेको परियारले बताए ।

‘हामीले ४८ घण्टे मौन अवधिलाई अत्यन्तै पालना गरयौ । तर अरुले कांग्रेस एमालेले त्यही अवधिमा निक्कै ठूलो पोलोराइजेशन गरे, परियारले भने, ‘अनि हामी जित्ने उद्देश्यले मैदानमा गएका थिएनौं, त्यसैले हार्ने पार्टीका उम्मेदवारलाई किन भोट दिने भन्ने मतदाताको मानसिकताले पनि काम गर्यो ।’

मेयर र उपमेयरमा ११ लाख खर्च गर्न पाउने सिमा भएपनि जम्मा झण्डै एक लाख ७५ हजार खर्च भएको उनको भनाई छ । तर इटहरिका प्रमुख ५ देखि ७ वडामा कांग्रेस, एमाले र राप्रपाले २० लाख रुपैयाँसम्म खर्च गरेको उनको दावी छ ।

मेयरमा परियार सेलरोटी र उपमेयरमा काफ्ले क्यामेरा चुनाव चिन्ह लिएर चुनावी प्रतिष्पर्धामा थिए ।