प्रकाश गिरी
मेरो विवाह केहिदिन अगाडिमात्र भएको थियो – फेसबुके लभको जमानामा पनि एउटा पृथक मागी विवाह! “केटी निकै सुशील छे, पढनमा एक लम्बर! सरकारी शाखा अधिकृत…” – बिहेको कुरा छिनिएको दिन लाहुरे बुढाले भनेका थिए – “…तँ गोज्याङ्ग्रेका शाखा नि सेक्निभई, भाग्यमा त ल्याकै रैछस् लण्ठू!”…पातकि बुढा!!

हाम्रो बिहे भयो! बिहेपछिका एक-दुई दिन उसलाई खुसि देख्न पाईन मैले। सायद माईतीको यादले हुनसक्छ। या त मेरो प्रेमको लाजले?

तर ऊ फेरीईन। एक्लोपनाले सतायोकी भन्ने ठानेर म दिनहुँ उसलाई उसको कार्यालय पुर्याईदिन चाहन्थेँ, तर ऊ एक्लै जान रुचाउँदथी। म पनि छुट्टै आफ्नो अफिसको बाटो लाग्दथेँ।

उसलाई खुसी बनाउँन बिदाका दिनहरुमा सङ्गै रहदा म निकै परिश्रम गर्दथेँ। गोदावरी र मृगस्थली घुम्ने र अंगालोमा रमाऊदैँ सिनेमा हेर्न जाने प्रस्ताव राख्दथेँ। तर ऊ सवै ईन्कार गर्दथी। उपन्यासका किताबहरुमा घोरिनु बाहेक उसको ध्यान अन्त गएको बिरलै भेट्थे म!

एकदिन सोधेँ – तिमीलाई मसंग केहि कुरामा चित्त नबुझेजस्तो लाग्दछ। तिमीलाई केहि चाहँना छ भने भन प्यारी!”

prakash-giri

“चाँहेजति पाईने भए त…”

“भनेर त हेर!”

“सम्भव छैन!”

“प्रेम भनेको अनुभूति हो! अनुभूतिमा त आकाशको तारा झार्न पनि सम्भब छ! यस्तो असम्भव के नै छ र?” – मैले जिद्दि गरेँ।

“हो सम्भव छ, तर यो भनेको केबल किल्लामा बाँधिईरहनुपरेका गाई-बस्तु बलपुर्वक फुत्केर खुल्ला चौरमा डौडिए सरह हुँनेछ। फेरी कुटाई फुत्किनेले नै खानुपर्छ।“

“न त तिमी गाई-बस्तु हौँ, न त मैले तिमीलाई बन्धन लगाएर बाँधेको नै छु!”

“हजुरले लगाईदिएका सिंदुर-पोतेलाई के भन्नुहुन्छ?”

“श्रृङ्गार!”

“मलाई त सिन्दुर एउटा परिधी र चुरा त्यसमा बन्धन बनाँउने हत्कडी जस्तो लाग्दछ!” – उसले मलाई जिवन जीउन नदिने जेलरजस्तो देखाईदिई।

“उसोभए तिमी त्यो परिधीको सिमा मेट्टाऊ अनि हत्कडी तोडेर सयर गर!”- यति भनेर म निस्केँ।

“सायद त्यस्तै गर्न नि के बेर…” – मुलढोका देखि अलि पर पुग्दा उसले पत्निप्रतिको मेरो विश्वासमै लात हानी।
त्यसदिनदेखि हाम्रो सम्बन्ध झन चिसियो। दिनहुँको झगडा र घोचपेच! छातिमै रोप्ने!

तर मलाई घर बिगार्न मन थिएन। म उसलाई चित्तबुझ्दो तरिकाले प्रेम दर्शाउँन चाहन्थेँ। उसका चुरा-पोते हत्कडी होईन, मेरो प्रेम दर्शाउने आभूषण हुन भनेर बुझाउन चाहन्थेँ।

मैले हाम्रो चिसिएको सम्बन्ध सुधार्ने अठोट गरेँ र उसलाई मनपर्ने गिफ्टबाट यसको सुरुवात गर्ने निश्कर्ष पनि! उसलाई मनपर्ने गिफ्टहरु भनेकै उराठलाग्दा उपन्यासहरु थिए। मैले आज अफिस नगई पुस्तक प्रदर्शनीको बाटो रोजेँ।

म त्यतिबेला उराठमा परे जतिबेला ऊ त्यहि प्रदर्शनीमा एउटा पुरुषलाई कुनै किताबका पानाहरु देखाएर केहि भलाकुसारी गरिरहेकी थिई। एकैछिनमा दुबैजना हाँसेको देखियो। पुरुषले आफ्नो वालेट झिकेर केहि रकम पसलेलाई थमायो, अनि आफ्नो हात मेरी स्वास्नीको काधँलाई। मेरी स्वास्नीले किताब आफ्नो ब्यागमा राखी अनि आफ्नो हात त्यो पुरुषको कम्मरमा! मेरी स्वास्नी आँफूले चाँहेको स्वतन्त्रतामा छिल्लीँदै अर्को पुरुषसँग टाढा हराई। धेरैपछि मैले ऊ हाँसेको देखेँ!

एक युवती मै जसरी बसेर अघिदेखि उनीहरुको चर्तिकलामा टोलाईरहेकी थिई। अर्काको बारेमा के खान चासो होला – मेरो मन झन मुर्मुरियो।

लौ! मेरो यो दु:खमा ऊ पो सुँकसुँकाईरहेकि थिई। मैले यत्तिकै रहन सकिन – “मन् मेरो चिरीएको छ, आँखा हजुरका भरिएका छन्। कृपया यसको अर्थ बताईदिन सक्नुहुन्छ श्रीमति?”

उ सुकँसुँकाउदै बोली – “आफ्नो लोग्नेलाई खुशी राख्नु एउटी स्वास्नीको कर्तव्य हो, अनि उसका ईच्छा- आकांक्षाहरु बुझेर प्रेमीको स्पर्शले जिवनका तनाव भुलाईदिनु उसको धर्म…!” मनमा जति आँधीबेहरी चलीरहेको भएतापनि उसका कुराले मलाई मधुमस्त तुल्याईदियो। मनले सोच्न थाल्यो – मेरी स्वास्नी पनि यस्तै भईदिएकी भए…।

“यति समर्पित हुन सक्ने सुन्दरीका आखाँमा आँशु किन त?” – मैले प्रश्न गरेँ।

“…तर आफ्नी श्रीमतीको विश्वासलाई लत्याएर परस्त्रीसँग सम्बन्ध राख्नु न त उसको कर्तव्य हो न धर्म…!” – उनी भक्कानीईन।

कोमल मनकी उसका कोमल गालमा आँशु बगेको मलाई सह्य भएन। मैले पुछिदिएर ढाडस दिएँ, उसले मेरो छातिमा अडेस लिई। हाम्रो मिठो सम्बन्धको तितो सुरुवात त्यहि थियो। हो…मेरी स्वास्नी र उसको लोग्नेले नैँ हामीलाई एकठाँउ ल्याईपुर्याईदिएका थिँए। अनि यो पनि हो कि उनीहरुले दिएको चोटको सामना गर्न हामीलाई अब एकअर्काको ढाडस थियो। उसको लोग्नेले उसलाई गोदावरी र मृगस्थली लगेन, मेरी स्वास्नी मसंग जान मानिन। तर अब त्यसमा पनि हामीलाई एकअर्काको साथ थियो।

हामी अब दिनहुँजसो एकअर्कासँग भावना साट्न पाएका सुन्दर पलहरुले प्रफुल्लित हुँदै आ-आफ्नो घर फर्किन्छौँ। मेरी आफ्नै स्वास्नी अनि उसको आफ्नै लोग्नेपनी सायद त्यसरी नै होला आजकल सन्टुष्ट देखिन्छन्। घरको झगडा मौनतामा परीणत भएको पनि थुप्रै भईसक्यो।

तर खै! सबैजनाको मन प्रफुल्लीत भएतापनि यो झुटो प्रतिबिम्बमा झुटो लोग्नेस्वास्नीको नाटक किन? फेरी थाह नपाएजस्तो गर्दैमा सबै आनन्दित छन् भने सबैलाई थाह भईरहेको सत्य कथिरहनु पनि किन??

कस्तो बिडम्बना!

स्वास्नी साट्न नमिल्ने, लोग्ने साट्न नमिल्ने!