अरुण कुमार यादव

२७ पुस, राजविराज । विगत करिब साढे पाँच दशकदेखि अलपत्र अवस्थामा रहेको सप्तरीको राजविराजस्थित विमानस्थलको पुनःनिर्माण कार्य यतिबेला तीव्रगतिमा भइरहेको छ ।

सो विमानस्थल निर्माणका लागि कान्छाराम, रमण, देव एन्ड शायर जेभी कम्पनीले जिम्मा पाएपछि निर्माण कार्य सुरु भएको हो । भ्याटसहित करिब रु ३० करोडमा उक्त कम्पनीले ठेक्का लिएपछि अहिले माटो भर्ने तथा सब बेसको कार्य सुरु गरिएको बताइएको छ । माटो भराइको काम सकिएपछि पिचिङको कार्य सुरु गरिने सो कम्पनीले जनाएको छ ।

rajbiraj-airport

कम्पनीका इन्जिनियर मणिगोविन्द श्रेष्ठले भने, “पिचिङका लागि चैतदेखि जेठसम्मको समय उपयुक्त भएको हुनाले हामी त्यस अवधि भित्रै काम पूरा गर्ने प्रयासमा छौँ ।” साथै यथाशक्य चाँडो निर्माण कार्य सम्पन्न गर्नका लागि आवश्यक उपकरण तथा जनशक्तिसमेत परिचालन गरिसकेको उनले बताए ।

विसं २०१६ सालमा तत्कालीन यातायात मन्त्री गणेशमान सिंहद्वारा उद्घाटन गरिएको सो विमानस्थलको निर्माण कार्य एक महिनादेखि यता तीव्र पारिएको स्थानीयवासीले बताएका छन् ।

एकहजार पाँचसय मिटर लामो तथा ३० मिटर चौडा पक्की धावनमार्ग र ६० मिटर चौडा र ९० मिटर लामो एप्रोन तथा एकसय पाँच मिटर लामो र २० मिटर चौडा ट्याक्सी वे निर्माण गरिने इन्जिनियर श्रेष्ठले जानकारी दिए । धावनमार्ग निर्माण भइसकेपछि राष्ट्रियस्तरको जुनसुकै उडान यहाँबाट बाह्रै महिना भर्न सकिने बताइएको छ ।

विमानस्थलको स्तरोन्नति भएपछि नियमित विमान सेवा सुरु हुने र जिल्लाको विकासमा समेत सकारात्मक परिवर्तन आउने सप्तरीका बुद्धिजीवीको भनाइ रहेको छ । विकास निर्माणको दृष्टिकोणले सप्तरी पछाडि परेको अवस्थामा राजविराजमा विमानस्थल सञ्चालन भइसकेपछि जिल्लाको समग्र विकासमा योगदान मिल्ने र यसमा सबै राजनीतिकर्मीले समेत ठोस कार्यमा ध्यान दिनुपर्ने राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रीय सचिव गजेन्द्रकुमार मण्डलले बताए ।

साथै, उनले जिल्लामै रहेको राजविराज विमानस्थल पुनःनिर्माण भएर सञ्चालन भएमा जिल्लाकै गौरव हुने भएकाले निर्माण कार्यमा सबै एकजुट हुनु पर्नेमा जोड दिए । विमानस्थलको स्तरोन्नतिका लागि जिविस सप्तरीले छुट्याएको रु दुई करोड बजेटबाट हवाई मैदानको घेराबेरा गर्ने कामसमेत थालिएको जिविसले जनाएको छ ।

पञ्चायतकालमा काठमाडौँ र खोटाङको लामीडाँडासम्म विमान सेवा उपलब्ध हुने गरेको यो विमानस्थल करिब एक दशकदेखि पूर्णतः बन्द रहँदै आएको थियो । कच्ची धावनमार्ग भएका कारण उक्त विमानस्थलमा नियमित उडान हुन सकिरहेका थिएनन् । रासस