२० मंसिर, ललितपुर ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको सङ्घीय संरचनाअनुसार सातवटै प्रदेशमा विज्ञान प्रयोगशाला तथा अनुसन्धान केन्द्रको स्थापना गरिने बताएका छन् ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)को ३४औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहलाई आज सम्बोधन गर्दै उनले प्रदेशको विशेषताअनुसार नै यस्ता अनुसन्धान केन्द्रको स्थापना गरिनु पर्ने विचार व्यक्त गरे ।

फाइल तस्बिर

फाइल तस्बिर

दोस्रो संविधानसभाबाट जारी संविधानलाई सर्वस्वीकार्य बनाउन संविधान संशोधन विधेयक संसद्मा दर्ता गरिएको उनले स्पष्ट पारे । उनले भने – “अहिले संविधान संशोधनमार्फत आमनेपालीको चाहना अनुरुप तीन तहको निर्वाचनमा जानुको विकल्प छैन ।”

मुलुकको विकासका लागि भारत र चीनसँग त्रि–देशीय साझेदारी हुन जरुरी रहेको उनको भनाइ थियो । वर्तमान अवस्थामा राजनीतिक जोडघटाउभन्दा पनि राष्ट्रलाई समृद्ध बनाउने दिशामा सबैको ध्यान जानुपर्ने उनले बताए ।

शितल निवाशको चर्काचर्कीपछि ओली निवाशमा कठोर निर्णय

सो अवसरमा नास्टका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री दाहालले २०७३ सालको प्रकृति संरक्षण पुरस्कार झापा कन्काईस्थित जामुनबारी सामुदायिक वन उपभोक्ता समूहलाई प्रदान गरे । विगत दुई दशकदेखि वन, वातावरण, वन्यजन्तुको सुरक्षित वासस्थान, सिमसार क्षेत्र तथा जैविक विविधताको संरक्षण र सम्बद्र्धनमा योगदान पुर्‍याएबापत उपभोक्ता समूहलाई उक्त पुरस्कार दिइएको हो । पुरस्कारको राशि रु दुई लाख रहेको छ ।

यसैगरी, रु एक लाख राशि रहेको विज्ञान पुरस्कार धनुषाका डा मनोजकुमार यादवलाई प्रदान गरिएको छ । पारदर्शी र सुपथ सेमिकन्डक्टर जिङ्क अक्साइडसँग म्याग्नेसियम र क्याडमियम मिसाएर आवश्यकताअनुसार विभिन्न रङको लेजर उत्पादन गर्न सकिने तथ्यको पुष्टि गर्दै पहिलोपटक घनत्व कार्यात्मक सिद्धान्त प्रतिपादन गर्नुभएकामा यादवलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

रु एक लाख राशि रहेको प्रविधि पुरस्कार सिन्धुपाल्चोकका डा सुरेन्द्रलाल श्रेष्ठलाई प्रदान गरिएको छ । डढुवा रोग अवरोधक वर्णशङ्कर गोलभेँडाहरुको उत्कृष्ट जात विकास गरी किसानमैत्री खेतीबालीको अनुसन्धान एवम् विकासमा योगदान पुर्‍याएबापत श्रेष्ठलाई उक्त पुरस्कार दिइएको हो ।

के ऐश्वर्याले आत्महत्याको प्रयास गरेकी हुन् ?

यसैगरी, जनही रु ७५ हजार राशि रहेको विज्ञान तथा प्रविधि युवा पुरस्कार पाल्पाका सन्तोष नेपाल, दार्चुलाका डा खेमराज जोशी, झापाका डा सन्तोष दुलाल, सिन्धुपाल्चोकका डा उर्मिला प्याकुरेल र सप्तरीका डा रामदेवी तचामो शाहले पाएका छन्।

समारोहमा प्रज्ञा–प्रतिष्ठान तथा प्रविधि प्रवद्र्धन पुरस्कार महिला स्वास्थ्य स्वयम्सेविका कार्यक्रम, परिवार स्वास्थ्य महाशाखा नेपाल र ताप्लेजुङका रामचन्द्र अधिकारीलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि जनही रु ५० हजार रहेको छ ।

द वल्र्ड एकेडेमी अफ साइन्सेस पुरस्कार रसुवाका डा सरस्वती आचार्यले पाउनुभएको छ । सो पुरस्कारको राशि रु एक लाख नौ हजार (एक हजार डलर) बराबरको रहेको बताइएको छ ।

यसैगरी, नविल विज्ञान तथा प्रविधि पुरस्कार चार जनाले प्राप्त गरेका छन् । पुरस्कार पाउनेहरुमा ओखलढुङ्गाका प्रा डा टङ्कनाथ धमला, मोरङका डा हरिप्रसाद अर्याल, काठमाडौँका प्रा डा कृष्णदास मानन्धर र ललितपुरका प्रा डा सिर्जनलाल श्रेष्ठ छन् । पुरस्कारको राशि जनही रु एक लाख २५ हजार रहेको छ ।

नास्टद्वारा प्रदान गरिने दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कार पाउनेहरुमा त्रिभुवन विश्वविद्यालय जैविक प्रविधि विज्ञान केन्द्रीय विभागका विमला ढकाल र प्राणी शास्त्र केन्द्रीय विभागका श्यामकुमार पुन हुनुहुन्छ । उक्त पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ ।

सो अवसरमा नास्टमा कार्यरत डा तिमिला श्रेष्ठ, प्रा डा रामवृक्ष शाह, चन्द्रलेखा कायस्थ, गोपालप्रसाद काफ्ले र प्रा डा रामस्वार्थ रायलाई सम्मान गरिएको थियो । यसैगरी, दिपाश्री रावल, डा बुद्धराम शाह, डा रवीन्द्रप्रसाद ढकाल, रोशन पाण्डे, हरिराम श्रेष्ठ, रानु शर्मा, दिलीप श्रीवास्तव, सञ्जयश्वर श्रेष्ठ, प्रेमबहादुर कार्की, तीर्थमाया नेपाली र द्रोणनाथ डङ्गोललाई प्रशंसापत्र प्रदान गरिएको नास्टका उपकुलपति प्राध्यापक डा जीवराज पोखरेलले जानकारी दिए ।

यस्तै, नास्टमा स्वयम्सेवकका रुपमा कार्यरत किताजुमी हाजुमी र चुन डोङ्गलीलाई पनि कदरपत्र वितरण गरिएको थियो । सोही अवसरमा प्रधानमन्त्री दाहालले स्वतन्त्र कर्मचारी युनियन नास्टद्वारा प्रकाशित स्मारिकाको विमोचन पनि गरेका थिए। रासस