शरद रेग्मी
checking blood pressure२४ चैत, दाङ । ‘बाबु आज त हामी निकै खुसी छौ आफ्नै पायकपर्ने ठाउँमा आएर उपचार गराउन पाइयो”, बाघमारेका मोहन केसीले तुलसीपुर उद्योग वाणिज्य संघमा प्रशन्नता ब्यक्त गरे । उनले यसरी प्रशन्नता व्यक्त गर्नुको कारण काठमाडौ र कोहलपुरबाट मुटु र पेटका विशषेज्ञ झिकाएर नि:शुल्क उपचारको व्यवस्था मिलाइएकाले हो ।
अञ्चल अस्पताल स्थापना भएको ५ वर्ष पुग्दापनि विविध कारणले गर्दा अस्पताले अझैसम्म सोचेअनुरूपको उपचार दिन सकेको छैन । अस्पतालले सामान्य प्रकृतिका रोगहरू मात्रै हेर्ने गर्छ । गंभिर प्रकृतिका सबै बिरामी जिल्ला बाहिर नै रिफर गरिन्छ । मुटु र पेटका विरामीहरूको उपचार त झन तुलसीपुरमा सम्भव हुने कुरै भएन तर शनिवार भने पश्चिम दाङ सहित आसपासका बिरामीहरूले सर्वसुलभ रुपमा आफूलाई पायकपर्ने स्थान तुलसीपुरमै आफ्नो मुटु र पेटको निशुल्क उपचार गराउन पाए ।
यो अवसर तुलसीपुर उद्योग वाणिज्य संघले सर्वसाधरणको हितको लागि आयोजना गरेको हो । उद्योग वाणिज्यसंघको आयोजनामा कोहलपुर मेडिकल कलेज बांके र शहिद गंगालाल हृदय रोग केन्द्र काठमाडौंको प्राविधिक सहयोगमा स्थानियवासीले तुलसीपुरमै निशुल्क चेक जाँच तथा उपचार पाएका हुन् । पवननगरका ८३ वषिर्य हस्तबीर खत्रीले पनि निशुल्क रुपमा ल्याब टेष्ट, इसिजि लगायतका सेवा लिएका छन् । उनले यसरी उपचार पाएकोमा खुसी व्यक्त गर्दै भने, ‘यी व्यापारी सँधै मुनाफा मात्रै सोच्छन् त्यो भन्दा अर्को सोच्दैनन् भन्ने लागेको थियो तर समाजलाई निरोगि बनाउन पनि लागेको देखें । मलाइ त उद्योग वाणिज्य संघले (डाक्टर) भगवाननै ल्याइदिएजस्तो लाग्यो ।’
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष हिमाल बस्नेतले भने ‘हाम्रो संघ उद्योगी, व्यापारीको हकहित, विकास निर्माण र समाजसेवामा पनि समर्पित छ भन्ने कुराको उदाहरण हो ।’ वाणिज्य संघका निवर्तमान अध्यक्ष दिपेन्द्रकुमार खत्रीले समाजसेवाका यस्ता कार्यहरु वाणिज्यसंघले आगामी दिनहरुमा पनि निरन्तरता दिने बताए ।
स्वास्थ्य जाँचका लागि बिहान ५ बजेदेखि नै लाईनमा बसेका अपाङता भएका सुरेश नेपालीले पेट दुख्ने समस्याका कारण स्वास्थ्य परिक्षण गराउन आएको
बताए । शिविरमा गंगालाल हृद्धय रोग केन्द्रका मुटुरोग बिशषज्ञ डा. श्यामराज रेग्मी, नेपाल मेडीकल कलेज कोहलपुरका डा. दिपेन्द्र खड्का र डा. सुवास योगी र चितवन मेडिकल केलजबाट डा. भारती शर्माले निशुल्क स्वास्थ्य जाँच गरिरहेका छन् ।
टोलीमा ४ जना चिकित्सक, ४ जना नर्स, १ जना ल्याब टेक्निसीयन रहेको टिमका कोअर्डिनेटर रामबहादुर मल्लले जानकारी दिए । शिविरमा राप्ती अञ्चल अस्पताल तुलसीपुर, पाल्पाली मेडिको फर्मा लगायतको प्राविधिक टोली खटिएको संघका महासचिव बिमल रिजालले जानकारी दिए । शिविरमा स्वास्थ्य जाँचका लागि झन्डै सात सय बढिले निशुल्क स्वास्थ्य जाँच गराएको संघका प्रेश सल्लाहाकार शरद रेग्मीले जानकारी दिए । शिविरलाई सफल पार्न शनिवार बिहानै देखि तुलसीपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष, उद्योगि, व्यपारी लगाएत सरकारी र गैरसरकारी संघसंस्थाका पदाधिकारीहरू खटिएका थिए ।