विवेक शर्मा चापागाई

कवी: विवेक शर्मा

विश्वास गर,
म आफुँ बन्नको निम्ति होईन
तिमीलाई बनाउने सोचमा
सुनै सुनको अण्डा पार्ने,
विदेशी अस्ट्रीच छोडेर
लोकल हाँस र कुखुरा हुर्काउदैछु
जब तिमी बन्ने छौ नि मित्र,
मलाई विश्वास गर
तिमी अरुलाई बनाउन लाग्नेछौ
फेरी अरुले तिमी जस्तै अरुलाई बनाउनेछन्
अनि
कालान्तरमा म, तिमी अनि अरु मिलेर हाम्रो देश बनाउनेछौ॥
.
.
विश्वास गर,
रेमिट्यान्सले मिट्यान्न पार्ने छ तिम्रो देश
जबसम्म तिमी तिम्रो देश पछि पर्यो भन्दै
अरुको देश बनाउन दगुर्नेछौ
मलाई विश्वास गर मित्र
तिम्रो अनुपस्थितीमा
कुनै माईकालाल आएर बनाईदिने छैन तिम्रो देश
त्यसैले त आउ मित्र
म तिमीलाई बनाउने छु
तिमी अरुलाई बनाउ
फेरी अरुले तिमी जस्तै अरुलाई बनाउनेछन्
अनि
कालान्तरमा म, तिमी अनि अरु मिलेर हाम्रो देश बनाउनेछौ॥
.
.
विश्वास गर,
तिम्रो सोचाई तिमी आफैँले बदल्न सक्छौ
जबसम्म आफ्नै बुढा बा-आमालाई
थाग्ङ्नामा सुताएर,
विदेशी Old Age Home मा १२ घण्टा तैनाथ हुनेछौ
मलाई विश्वास गर मित्र
तिमीले पठाएका हरिया डलरले
आमाको आशुँ पुछ्न सक्दै सक्दैनन्
त्यसैले त आउ मित्र
म तिमीलाई बनाउने छु
तिमी अरुलाई बनाउ
फेरी अरुले तिमी जस्तै अरुलाई बनाउनेछन्
अनि
कालान्तरमा म, तिमी अनि अरु मिलेर हाम्रो देश बनाउनेछौ॥