८ पुस, काठमाडौँ।

एघारौँ दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप)अन्तर्गतको उद्घाटन खेल नेपाल र श्रीलङ्काबीच केहीबेरअघि सुरु भएको छ ।

समूह ‘ए’ का यी दुई टोली अहिले भारतको त्रिबेन्द्रममा आमने सामने भइरहेका छन् । सोही समूहमा प्रतियोगिताको सर्वाधिक सफल टोली आयोजक भारत पनि छ । विगतमा श्रीलङ्का नेपालमाथि हाबी भएको टोली हो । दुई टोलीबीच १३ ‘हेड टु हेड म्याच’ भएका छन् जसमा नेपालले दुई जित, छ बराबरी र पाँच हार व्यहोरेको छ । तर पछिल्लो समयमा श्रीलङ्का खस्किएको छ । यसको पुष्टि भर्खरै सार्वजनिक भएको फिफा बरियताले पनि गर्छ, जसमा श्रीलङ्का नेपालभन्दा दुई स्थान तल तथा दक्षिण एसियाकै सबभन्दा तल्लो बरियतामा छ ।

पाकिस्तानले प्रतियोगितामा भाग नलिने निर्णय गरेसँगै यो समूहमा तीन टोलीबीच मात्र प्रतिस्पर्धा हुनेछ । तीनमध्ये दुई टोली सेमिफाइनलमा पुग्ने भएकाले दुवै टोलीलाई जम्मा एक जित जरुरी छ । त्यसैले सेमिफाइनल यात्रा सहज गर्न दुवै टोली आज जितकै खोजीमा हुनेछन् ताकि दोस्रो खेलमा बलियो भारतसँग गर या मरको स्थिति सामना गर्न नपरोस् ।

साफ च्याम्पियनसिपमा नेपाल पहिलो उपाधिको खोजीमा छ । अहिलेसम्म नेपालको यात्रा सेमिफाइनलभन्दा अघि बढ्न सकेको छैन । साफ खेल्ने आठ राष्ट्रमध्ये पाँच टोलीले प्रतियोगिता जितिसकेका छन् जसमा भारत छ पटक तथा अफगानिस्तान, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्का एक÷एक पटक जित्नेमा छन् ।

श्रीलङ्काविरुद्ध उत्रिएको नेपाली टोलीमा कप्तान अनिल गुरुङ, विमल घर्ती मगर, अन्जन विष्ट, रोहित चन्द, किरण लिम्बु, जितेन्द्र कार्की, आदित्य चौधरी, विराज महर्जन, हेमन गुरुङ, रञ्जित धिमाल र विक्रम लामा छन् ।