१७ चैत, एजेन्सी।

सामसुङले आफ्नो नयाँ फोन ग्यालेक्सी एस ८ र एस ८ प्लस लञ्च गरेको छ। यसबाट होम बटन हटाइएको छ र एक नयाँ भर्चुअल असिस्टेन्ट थपिएको छ।

दुवै फोनको स्क्रिनको आकार पहिले लञ्च गरिएको सामसुङको एस ७ र एस ७ एजको बराबर छ।

नोट ७ मा आगो लागेको घटना पछि सामसुङले बजारबाट सो फोट हटाएको थियो। साथै सामसुङमाथी लागेको भ्रष्टाचारको आरोप पश्चात कम्पनीको यो सबैभन्दा ठूलो लञ्च हो।

नोट ७ मा आगो ब्याट्रीको कारण लागेको सामसुङले बताएको थियो। यो पटक सुरक्षामा विशेष ध्यान दिइएको सामसुङले बताएको छ।

सामसुङको नयाँ फोन ग्यालेक्सी एस ८ र एस ८ प्लस २१ अप्रिल देखि बजारमा आउने छ।

ग्यालेक्सी एस ८ को मूल्य ६९० पाउण्ड र ८ प्लसको मूल्य ७८० पाउण्ड तोकिएको छ।

के-के छन् विशेषता ?

ग्यालेक्सी एस ८ को स्क्रिन साइज ५.८ इन्च (१४.७ सेन्टिमिटर) र एस ८ प्लसको स्क्रिन साइज ६.२ इन्च (१५.७ सेन्टिमिटर) छ।

दुवै फोनमा अब होम बटन हुनेछैन।

१८:५:९ अनुपातको स्क्रिन भएको कारण दुई एप साइड बाई साइड चलाउन सहज हुने सामसुङले बताएको छ। जस्तो कि, स्क्रिनको एक साइडमा भिडियो हेर्दै अर्को साइडमा च्याटको लागि कुनै एप एकसाथ चलाउन सकिनेछ।

स्क्रिनको रिज्योलुसन पहिलेको जति नै छ, तर यसपटक स्क्रिन पहिले भन्दा बढी ब्राइट छ। यसले हाइ डायनामिक रेन्ज (HDR) सपोर्ट गर्छ। जसको कारण भिडियोको क्वालिटी बढ्नेछ।

ग्यालेक्सी एस ८ र एस ८ प्लसमा बिक्सबाई (Bixby) नामको एक नयाँ भर्चुअल असिस्टेन्ट इन्स्टल गरिएको छ। यो एप्पलको सिरी र विन्डोजको कोर्टाना जस्तै एप हो।

यो भर्चुअल असिस्टेन्ट साइडमा राखिएको बटनबाट चलाउनु पर्नेछ। यसको मद्धतले फोटो ग्यालरी, म्यासेज मौसम जस्ता १० एप आवाजको मद्धले (बोलेर) चलाउन सकिनेछ।

फोनको क्यामेराले देखेको वस्तु चिन्न पनि यो सफ्टवेयरको प्रयोग गर्न सकिन्छ।

क्यामेरा

अघिल्लो वर्ष लञ्च गरिएको फोनको तुलनामा यो पटक क्यामेरामा अझै सुधार गरिएको छ। यसको फ्रन्ट (सेल्फि) क्यामेरा ८ मेगापिक्सलको छ र अटोफोकसलाई सुधारिएको छ।

पछाडीको क्यामेरा १२ मेगापिक्सल छ।

कम्पनीले फोनको सेन्ट्रल प्रोसेसिङ युनिट (सिपीयू) १० प्रतिशत र ग्राफिक्स प्रोसेसिङ युनिट (जिपीयू) २१ प्रतिशतले बढी शक्तिशाली बनाइएको बताएको छ।