सोल (एजेन्सी) । विद्युतीय सामाग्री उत्पादन गर्ने दक्षिण कोरियाको ठूलो कम्पनी सामसुङ इलेक्ट्रोनिक्सका प्रमुखले पदबाट राजिनामा दिएका छन ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत क्वोन ओह ह्युनले प्रविधिको बढ्दो चुनौतीलाई सामना गर्न आफुले नसक्ने भएकाले नयाँ युवालाई अवसर दिनका लागि आफुले पद त्याग गरेको बताएका छन ।

पदत्याग गर्नेबारे आफुले केही समयअघिदेखि नै सोचिरहेको र अहिले मात्रै कार्यान्वयनको चरणमा पुगेको उनको भनाइ छ । उनले कार्यकारी प्रमुखको जिम्मेवारी छोडेपछि कम्पनीको बोर्ड सदस्यमा भने सन् २०१८ सम्म रहिरहने कम्पनीले जनाएको छ । दक्षिण कोरियामा सामसुङ कम्पनीसँग सम्वन्धित झण्डै ६० वटा कम्पनीहरु रहेकाले देशको ठूलो व्यापारिक समूहमा पर्दछ ।

सामसुङ कम्पनीमा दक्ष कर्मचारीहरू एकपछि अर्को गरी पर्याप्त भएकाले उनको बहिर्गमनले कम्पनीको व्यापारमा खासै असर नपर्ने कम्पनीका उच्च अधिकारीहरूले बताएका छन् ।