१२ असार, काठमाडौं । प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लामा असार १४ मा हुने दोस्रो चरण निर्वाचनका लागि आइतबार राति १२ बजेबाट मौनअवधि सुरु भएको छ ।निर्वाचन आयोगले मौनअवधि सुरु भएदेखि ४८ घन्टाभित्र उम्मेदवारलाई सभा बोलाउन, जुलुस निकाल्न, नाराबाजी गर्न र कुनै पनि प्रचारप्रसार गर्न निषेध गरेको जनाएको छ ।

आयोग प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार मौन अवधिमा सामाजिक सञ्जाल (ट्विटर, फेसबुक) बाट पनि कसैको प्रचारप्रसार गर्न पाइने छैन । सामाजिक सञ्जालबाट निर्वाचन प्रचारप्रसार भए÷नभएको आयोगले अनुगमन गर्ने जनाइएको छ । पहिलो चरण निर्वाचनमा मौनअवधिमा सामाजिक सञ्जालमार्फत प्रचारप्रसार भएको पाइएपछि आयोगले केही व्यक्तिसँग स्पष्टीकरणसमेत सोधेको थियो । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

दोस्रो चरण निर्वाचनमा सामाजिक सञ्जालबाट हुने प्रचारप्रसार रोक्न कडाइ गरिने प्रवक्ता शर्माले बताउनुभयो । प्रचारप्रसार भएको पाइए आचारसंहिता उल्लंघनका रूपमा कारबाही गरिने उहाँले बताउनुभयो । मौनअवधि अनुगमनका लागि आयोगको छुट्टै टोलीसमेत सक्रिय रहने उहाँले जानकारी दिनुभयो ।

मौनअवधि अवज्ञा गर्दै निर्वाचन आचारसंहिताविपरीत कुनै पनि किसिमले निर्वाचन प्रचारप्रसार गरेको पाइएमा त्यस्ता दल, संस्था, उम्मेदवार वा व्यक्तिमाथि निर्वाचन आयोग ऐन २०७३ बमोजिम हदैसम्म कारबाही गर्ने आयोगले जनाएको छ ।