९ असोज, काठमाडौं  ।

राजधानी काठमाडौमै करिव ६ हजार क्षयरोगी रहेको एक तथ्यांकले देखाएको छ । नेपालमा यो रोग लागेका करिव ४३ हजार रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । तर, नेपालमा अहिले ३४ हजारले मात्र औषधि सेवन गरिरहेको राष्ट्रिय क्षयरोग अनुसन्धान केन्द्र ठिमीको तथ्यांकमा उल्लेख छ ।national tuberculosis center
४३ हजारमा ३४ हजार रोगी पत्ता लागे पनि अझै ९ हजार क्षयरोगी पत्ता लाग्न बाँकी रहेको सो केन्द्रले जनाएको छ । ती रोगी पत्ता लगाउन केन्द्रले प्रयास गरिरहेको बताइएको छ । ३४ हजारमध्ये १५ प्रतिशत रोगी राजधानी मै बसेर औषधि सेवन गरिरहेको केन्द्रले जनाएको छ ।

हावाबाट सर्ने यो रोगले नेपालमा वर्सेनी हजारबढीको मृत्यु हुने गरेको क्षयरोग विशेषज्ञ डा प्रमोद भट्टराई बताउँछन् । हावाको आउजाउ नहुने गुम्म परेको कोठामा धेरैजना बस्दा यो रोग लाग्ने गरेको पाइएको डा. भट्टराईले बताए । यस्तोमा जेल, छात्रावास, गुम्वाहरुमा बस्ने यो रोगका पीडित भेटिएका छन् ।

रोगका लक्षणमा लगातार खोकी लागि रहनु , खोक्दा खकार आइरहनु, साँझमा ज्वरो आइरहनु, शरीरमा पसिना आइरहनु र शरीर दुब्लाउँदै जानु रहेको डा. भट्टराई बताउँछन् । फोक्सोमा क्षयरोग लाग्दा यी लक्षण देखिने गरेको बताउँदै डा. भट्टराई भन्छन् शरीरका अन्य अंगमा लाग्दा भने रोग लागेको अंगले विस्तारै काम गर्न छोड्छ । मान्छेको जुनसुकै अंगमा पनि क्षय रोग लागेमा साँझ पख ज्वरो आइरहने, पसिना आउने र दुब्लाउदै जाने लक्षण भने सबै रोगीमा देखिने लक्षण हो । क्षयरोग प्राय ः फोक्सोमा लाग्ने रोग हो । १ वा २ प्रतिशत भने शरीरका अन्य अंगमा क्षयरोग लागेका पनि भेटिएका छन् । हावाबाट श्वासप्रस्वासमा माध्यमले सर्ने रोग भएकाले यो रोगले प्राय फोक्सोमा आक्रमण गर्ने गरेको डा. भट्टराई बताउँछन् ।

नियमित करिव ८ महिना औषधि सेवन गर्दा क्षयरोग निको हुन्छ । तर, नियमित औषधि सेवन नगर्दा भने यो रोग ज्यादै जटिल हुने गरेको डा. भट्टराई जनाउँछन् । जटिल किसिमको क्षयरोग लागेमा करिव २४ महिना वा सोभन्दा बढी समय निकै कडा औषधि सेवन गर्नु पर्ने हुन्छ । नेपाल सरकारले विश्व स्वास्थ्य संगठनको सहयोगमा क्षयरोगको औषधि देशभरी नै निशुल्क वितरण गर्दै आएको छ । तर, यो औषधि स्वास्थ्यकर्मीको प्रतक्ष्य निगरानीमा खानु पर्ने हुन्छ । त्यसका लागि सरकारले देशका सबै स्वास्थ्य संस्थामा यसको औषधि उपलब्ध गराएको छ । अन्य औषधि नपाएको सुनिन्छ तर, क्षय रोगको औषधि नपाएको वा सकिएर सेवन गर्न नपाएको नसुनिएको डा. भट्टराई दावी गर्छन् । केही हिड्नै नसक्ने अवस्थाका रोगीलाई भने १ वा २ दिनको औषधि घरमा लैजान दिइने भए पनि अर्को दिन आउँदा उसले पहिले लगेको औषधिको खोष्टा देखाउनु अनिवार्य गरिएको छ । यसो गर्नुको कारण खुलाउदै डा. भट्टराई भन्छन् ‘औषधि सेवन नियमित होस् ।’

क्षयरोगीलाई चार किसिमका औषधि दिइने गरेको बताउँदै डा. भट्टराई यी सबै एन्टिवाइटिक भएको जानकारी दिन्छन् । नियमित सेवन नगर्दा मानव शरीरले प्रतिरोधात्मक क्षमताको विकास गर्छ र पहिलेको औषधिले काम गर्न छोड्छ । यस्तो अवस्था आएमा हामी यसलाई (एमडिआर) भन्छौं, अर्थात जटिल अवस्था । नेपालमा यस्ता जटिल किसिमका क्षयरोगी करिव तीन हजार रहेका डा. भटराईले वताए ।

जटिल किसिमका क्षय रोगीमा वीचैमा औषधि सेवन गर्न छाडेका अधिकांश छन् भने केही रोग परिक्षण नै नगराई लामो समय रोग पालेर बस्नेहरू रहेका केन्द्रले जनाएको छ ।
जटिल किसिमको क्षयरोग पत्ता लागाउन पनि समय लाग्ने गरेको प्रष्ट्याउँदै डा. भट्टराई भन्छन्  ‘पहिले त खकार जाँच र एक्सरे गरेर क्षयरोग ठहरेमा सामान्य क्षयरोगीलाई दिइने औषधिनै दिइन्छ । हरेक रोगीलाई औषधि सेवन गरेको दुई महिनामा पुन जाँच गरिन्छ । दुई महिनापछि जाँच गर्दा पहिले दिएको औषधिले राम्ररी काम गरेको नपाइएमा विशेष अनुसन्धान गरेर जटिल किसिमको (मडिआर) हो होइन भन्ने निक्र्यौल गर्छौ ।’