२६ माघ, काठमाडौं । भूकम्पले क्षतिग्रसत सिंहदरबार नभत्काईने भएको छ ।

सहरी विकास मन्त्रालयले ‘डिजिकन इन्जिनियरिङ कन्सल्ट प्राइभेट लिमिटेड’लाई परामर्शदाताको रुपमा छनौट गरी सिंहदरबारबारे गरिएको अध्ययन समितिले भत्काउनुपर्ने प्रतिवेदन पेश गरेको थियो । उक्त प्रतिवेदनमाथी पुरातत्वका अधिकारीहरुले असन्तुष्टि जनाएपछि पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिको बैठकले सिंहदरबार नभत्काउने निर्णय गर्दै रेक्ट्रोफिटिङ गर्न कार्यान्वनय समिति गठन गरेको छ ।

‘सिंहदरबार पुनर्निर्माण कार्य तत्काल प्ररम्भ गर्न कार्यान्वयन उप–समिति गठन गरिएको छ । ‘कार्यकारी सदस्य हरिराम पराजुलीको संयोजकत्वमा समिति गठन गरिएको हो,’ प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्राडा गोविन्दराज पोखरेलले भने । समितिमा प्राधिकरण, शहरी विकास मन्त्रालयका सह–सचिव, पुरातत्व विभागका महानिर्देशक, विज्ञहरु रोहित रञ्जीतकार, सन्तोष श्रेष्ठ र रविन्द्र पुरी छन् ।

Simha Durbar Gate

‘यो समितिले सिंहदरबार नभत्काई पुनर्निर्माणका लागि गर्नुपर्ने कामहरु यथाशिघ्र सुरु गर्नेछ,’ पोखरेलले भने । कार्यान्वयन समितिलाई सघाउन सिइओ पोखरेलकै संयोजकत्वमा ३० सदस्यीय सल्लाहकार समिति समेत गठन भएको छ । उक्त समितिले सिंहदरबार पुनर्निर्माणका लागि कार्यान्वयन समितिलाई विज्ञहरुको सुझावको आधारमा राय/सुझाब दिने छ ।

‘कार्यान्वयन समिति प्राधिकरण मातहत हुने छ,’ उनले भने, ‘सिंहदरबार पुनर्निर्माणका काम नसकिन्जेलसम्म यो समिति सक्रिय रहने छ ।’ सहरी विकास मन्त्रालयमार्फत परामर्शदाताले तयार पारेको अध्ययन प्रतिवेदनले रेट्रोफिटिङ गर्न असम्भव रहेको भन्दै सरकारलाई सुझाव प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन माथि प्राधिकरणमा छलफल हुँदा कम्पनीले अध्ययनको क्रममा सिंहदरबार परिसरको माटो–इाटाको समेत परीक्षण नगरी निचोड तयार पारेको आरोप लागेको थियो ।

ऐतिहासिक भवन रहेकाले संरक्षण र सम्वद्र्धन गरेर राख्ने निष्कर्षमा प्राधिकरण पुगेको हो । ‘समितिले यथाशिघ्र सिंहदरबारको पश्चिमतिरको मुल भागलाई नभत्काएरै पुनर्निर्माणको काम अघि बढाउनेछ,’ बैठकपछि प्राधिकरणद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

सिंहदरबार विक्रम संवत १९६० मा राणा प्रधानमन्त्री चन्द्र शमशेरले निजी निवासको रुपमा निर्माण गरेका हुन् । तत्कालिन अवस्थामा उक्त दरबारलाई एसियाकै सबैभन्दा ठूलो मानिन्थ्यो । २००७ सालमा राणा शासनको अन्त्यपछि सिंहदरबारमा प्रधानमन्त्री कार्यालयसहित सरकारका प्रशासनिक भवनको रुपमा सञ्चालनमा ल्याइएको हो ।

विक्रम संवत २०३० सालमा उक्त दरबारमा ठूलो आगलागी भयो । धेरै मन्त्रालयहरु अन्यत्र सारिए । ०७२ बैशाख १२ गतेको भूकम्पले पश्चिमपट्टीको भागमा ठूलो क्षति पुर्‍यायो । भूकम्पको क्षतिपछि उक्त भवनमा रहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय मुख्य माहाशाखाहरु समेत सारिएको छ । युरेपियन शैलीमा बनाइएको भवनलाई अहिलेकै अवस्थामा रहने गरी पुनर्निर्माण गरिने जनाइएको छ । आजको कान्तिपुरमा खबर छ ।