७ फागुन, काठमाडौं । जेलभित्र रहेका सिके राउतका कार्यकर्ता र प्रहरीबीच रुपन्देहीमा भिडन्त भएको छ । राउतको रिहाइको माग गर्दै प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गर्न खोज्दा झडप भएको हो ।

झडपमा प्रहरीले पाँच सेल अश्रुग्यास प्रहार गरेको छ । राउतका कार्यकर्ता र समर्थकले प्रहरीको लु १ ख ४९८१ नम्बरको ट्रकमा समेत आगजनी गरिदिएका छन् ।

रुपन्देहीको दक्षिण मर्चवार क्षेत्रमा भएको आमसभा प्रहरीले बिथोल्न खोज्दा झडप भएको राउत समर्थकको भनाइ छ । दोहोरो झडपमा परी ५ जना प्रहरी घाइते भएका छन् भने ८ जना राउतका कार्यकर्ता पक्राउ परेको प्रहरीले जनाएको छ ।

राज्यद्रोहको आरोपमा पक्राउ परेका राउतले आफ्नो ट्वीटर एकाउण्टबाट आफ्ना समर्थकलाई आन्दोलनका लागि उक्साइरहेका छन् । उनको ट्वीटर एकाउण्ट प्रत्येक घण्टाजसो अपडेट भइरहेको छ ।

सिके राउत सिराहा जेलमा भएपनि उनले आफ्नै ट्वीटर एकाउण्टमा बिज्ञप्ती जारी गर्दै मानवअधिकारवादीलाई न्यायका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

विज्ञप्तीमा उनले आफ्ना थुप्रै समर्थक घाइते भएको भन्दै प्रहरी दमनको विरोध गरेका छन् ।