९ फागुन, सिन्धुली । विपी राजमार्ग सडकखण्डअन्तर्गत सिन्धुलीको शीतलपाटीमा पर्ने राजमार्ग सुनकोसी नदीमा खसेको छ । शीतलपाटी–९ वेनीघाट खाल्टेमा पर्ने विपी राजमार्गको झन्डै एक सय मिटर सडक गएराति सुनकोसी नदीमा खसेको हो ।

राति ११ बजे सडक सुनकोसीतर्फ खसेको प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले जानकारी दिए । राजमार्ग किन र कसरी भत्कियो भन्ने यसै भन्न नसकिने उनको भनाइ छ । राजमार्गमा मोटरसाइकलसमेत नछिर्ने गरी राजमार्गको भित्तोसहित तल भासिएको प्रजिअ कार्कीले जानकारी दिए ।

गएरातिदेखि राजमार्ग सम्बन्ध विच्छेद भएपछि अहिले सयौँ सवारी गन्तव्यविहीन बनेका छन् । विपी राजमार्ग, मध्यपहाडी लोकमार्ग भएर राजधानी तथा राजधानीबाट बाहिरिएका सवारी गन्तव्यविहीन भएका छन् भने यात्रु बिचल्लीमा परेका छन् ।

रामेछाप, दोलखा, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गालगायत पूर्वका अन्य जिल्ला तथा तराईका जिल्लाबाट राजधानी हिँडेका सवारीसाधन बीच बाटोमा नै थन्किएर बसेका छन् ।

तस्विर: सुवास केसी