१७ पुस, सिरहा । कांग्रेस सिरहाको सभापतिमा सिरहा क्षेत्र नं ४ का सांसद रामचन्द्र यादव विजयी भएका छन् । nepali congress flag123

गएराति सम्पन्न मतगणनाअनुसार सांसद यादवले आफ्ना प्रतिद्वन्दी नरेशकुमार यादवलाई २ सय ८ मत अन्तरले पराजित गर्दै विजय प्राप्त गरेका हुन् ।

सांसद यादवले ५ सय ६९ मत प्राप्त गरेका थिए उनका प्रतिप्रतिद्वन्दी नरेशकुमार यादवले ३ सय ६१ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता देवेन्द्र कोइरालाले जानकारी दिए।

सभापतिमा विजयी भएका सांसद यादव पार्टी सभापति शेरबहादुर देउवा निकट मानिन्छन् उनका प्रतिद्वन्दी नरेशकुमार यादव पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिन्छन् ।

गत शुक्रबार भएको निर्वाचनमा सभापति पदका तीन उम्मेदवारमध्ये कसैले पनि बहुमत प्राप्त गर्न नसकेपछि सभापति पदका लागि पुनः शनिवार निर्वाचन भएको थियो ।

यस्तै सांसद यादव प्यानलकै उपेन्द्रकुमार यादवले ५ सय ५८ मत प्राप्त गरी पार्टीको सचिव पदमा विजयी भएका छन् भने उनका प्रतिद्वन्दी रामकुमार यादवले ३ सय ३ मत प्राप्त गरेका छन् ।

पार्टी कोषाध्यक्षमा पनि सांसद यादव प्यानलकै सूर्यनारायण मण्डलले ४ सय ८९ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्दी कपलेश्वर साहले २ सय ६८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।