२५ चैत, एजेन्सी ।

अमेरिकाले सिरियाका कैयौ क्षेत्रलाई मिसाइल आक्रमणको निशाना बनाएको छ । सिरियामा विद्रोहिहरुको कव्जामा रहेको क्षेत्रमा रासायनिक आक्रमणपछि अमेरिकाले यस्तो गम्भिर कदम उठाएको हो ।  पेन्टागनका एक अधिकारीका अनुसार ५९ टोमहक क्रुज मिसाइलले सिरियाको एयरबेस लाई निशाना बनाएको हो ।

यो पढ्नुस्: रासायनिक आक्रमण पश्चात जवाफमा सिरियामा ट्रम्पको मिसाइल आक्रमण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यी हमलापछि एक टेलीभिजनमार्फत दिएको सन्देशमा भने, ‘सिरियाका राष्ट्रपति असद एक तानाशाहि नेता हुन्, जसले निर्दोष व्यक्तिमाथि रासायनिक हतियार मार्फत हमला गरे । म संसारभरिका सबै सभ्य मुलुकलाई सिरियामा चलिरहेको रक्तपात तथा आतंकलाई जरैदेखि उखेल्न अमेरिकालाई साथ दिन आह्वान गर्दछु’

यसअघि ट्रम्पले सिरियाली नेतृत्वलाई ‘केही गर्न आवश्यक भएको’ भन्दै चेतावनी दिएका थिए । ह्वाइट हाउसका प्रवक्ताले अमेरिकाको यो आक्रमण यो हप्ता विद्रोहीको कव्जामा रहेको सिरियाली क्षेत्रमा भएको रासायनिक आक्रमणसंग जोडिएको स्पष्ट पारेका छन् । पेन्टागनका अनुसार अमेरिकी आक्रमणबारे रुसलाई पहिले नै सूचना दिएको थियो । रुस सिरियाली सेनालाई सहयोग गरिरहेको छ ।

मंगलबार सिरिया सरकारले विद्रोहीको कव्जामा रहेको एक सहरमा नर्भ ग्यास प्रयोग गरेको थियो ।

यस घटनापश्चात अमेरिकी विदेशमन्त्री रेक्स टिलिरसनले भविष्यमा सिरियाका राष्ट्रपति बशर अल असदको कुनैपनि भूमिका हुननहुने बताएका थिए। यस रासायनिक हमलाप्रति पुरै विश्वले चिन्ता व्यक्त गरेको थियो ।

अमेरिकाको सम्भावित कदम – सिरियाको हवाइ क्षेत्र निशाना बनाइने

सिरिया विरुद्ध सम्भावित अभियानको विषयमा पछिल्लो समय ह्वाइट हाउस र पेन्टागनमा विस्तृत कुराकानी समेत भएको थियो । यो अभियानमा सिरियाको हवाइ क्षेत्रलाई निशाना बनाइने अमेरिकी मिडियाले जनाएका छन् । ताजा जानकारी अनुसार अमेरिकी मिसाइलले अल-साइरात एयरबेसलाई निशाना बनाइसकेको छ ।

सिरियाले गरेको रासायनिक आक्रमण यहि वेसबाट गरिएको अमेरिकाले जनाएको छ।