१ चैत, सिरिया । सिरियामा जारी युद्धमा छ वर्षको अन्तरालमा मृत्यु हुने सिरियाली नागरिकको सङ्ख्या तीन लाख २० हजार पुगेको सिरियाली मानवअधिकार समूहले सोमबार जनाएको छ ।

मानवअधिकारवादी उक्त संस्थाले आफ्नो तथ्याङ्कमा जनाएअनुसार तीन लाख २० हजार मृतकमध्ये १७ हजार ४०० बालबालिका र ११ हजार महिला रहेका छन् ।

तथ्याङ्कमा सरकारी सुरक्षा बल तथा सहयोगी लडाकूदस्तातर्फबाट मृत्युवरण गरेका एक लाख १४ हजार ४७४ व्यक्ति पनि समावेश भएको बताइएको छ ।

त्यसैगरी घाइते हुने सिरियाली विद्रोही र कुर्दिस लडाकूको सङ्ख्या ५५ हजार रहेको उक्त संस्थाले जनाएको छ । तथ्याङ्कअनुसार विगत छ वर्षमा अलकायदा आवद्ध सिरियाली अल नुस्रा फ्रन्ट र इस्लामिक स्टेट (आईएस) समूहका ५६ हजार लडाकूसमेत मारिएका छन् ।

सिरियामा सन् २०११ को मार्च ११ मा सिरियाली सरकार, विपक्षी र केही बाहिरी शक्तिबीचको राजनीतिक सन्तुलन नमिलेपछि युद्ध सुरु भएको थियो ।

रसियाले सिरियाली राष्ट्रपति बसर अल असदलाई दरोरूपमा सहयोग गर्दै आएको छ भने टर्की, अमेरिकालगायत केही मुलुकले विद्रोहीको अधिकारका लागि सहयोग पु-याउँदै आएका बताइन्छ ।