२६ कात्तिक, रौतहट ।
रौतहटको चन्द्रपुर नगरपालिका को वडा नं. १ र ४ मा डेंगु रोगको संक्रमण देखिएको छ । चुरेसँग जोडिएको बाग्मती नदी किनारको पौराई सुकुम्बासी बस्तीमा डेंगु रोगको बिरामीको संख्या समेत बढेको छ ।

दुई साता अघिदेखी सो बस्तीमा डेंगुको बिरामीहरु देखिन थालेका थिए । ज्वरो आउने, वाकवाक लाग्ने, टाउको पछाडीको भाग तथा आखाँको गेडी दुख्ने लक्षण भएका दुई दर्जन भन्दा बढी बिरामी अहिले सो क्षेत्रमा रहेका छन । सुकुम्बासी बस्तीका अतिविपन्न परिवारमा डेंगुको संक्रमणका कारण सो क्षेत्रमा महामारी फैलिन सक्ने भन्दै स्थानिय चिन्तीत बनेका छन ।

घरै पिच्छै स्थानियहरु बिरामी भएको तथा रोग नजचाएका कारण रोगीहरुको सँख्या यकिन हुन नसकेको स्थानिय मेडिकल संचालक रामबाबु चौधरीले बताए । चौधरी स्वम पनि परिवार सहित नै डेंगुको शिकार भए पछि टेकु बाट उपचार गराएर फर्किएका हुन । पौराई टोलका ६ जनाले रगत परिक्षण गराउदा डेंगु रोग प्रमाणित भएको उनले बताए । उपचार पछि सोभता श्रेष्ठ, रामबाबु चौधरी, हरिममाया मगर लगायत ६ जना घर फर्किए पनि उपचार अभावमा गाँउमा थुप्रै बिरामी रहेका छन ।

डेंगु रोगकै कारण उपचारको क्रममा केही दिन अघि स्थानिय ४० वर्षिय मोतिराम गोलेको मृत्यु भएको स्थानिय श्याम बहादुर श्रेष्ठले बताए । एडिस एजिप्टाई जातको लामखुट्टेका कारण डेंगु रोग फैलने गर्दछ । रोगले स्थानियहरु बिरामी हुदा समेत सम्बन्धीत निकायले चासो दिएको छैन । चिकित्सकहरुले रोगका बारेमा स्थानियलाई जानकारी गराए पनि डेंगुका लार्भा नष्ट गर्ने वा औषधि छर्कने कुनै काम हुन नसकेको श्रेष्ठले बताए ।

डेंगु सक्रमित केही स्थानियहरुले भरतपुर तथा काठमाण्डौमा उपचार गराइरहे पनि आर्थिक अभावमा रहेका बिरामीहरु भने आँगनमै छटपटिएर बसेका छन । जिल्ला जनस्वास्थ्य कार्यालयलाई रोगका बारेमा जानकारी गराए पनि कुनै पहल नगरेको वडाअध्यक्ष बिरु रखालले बताए । २५ जना भन्दा बढी बिरामी अझै पनि गाँउमै रहेको उनले बताए ।