१४ पुस, काठमाडौं ।

व्यवस्थापिका संसदको लेखा समितिले प्रमाण अपुग भएको भन्दै सुन तस्करलाई मुद्धा नै नचलाउने सरकारी वकिलको कार्यालयसँग स्पष्टिकरण सोध्ने भएको छ ।

समितिको मंगलबार बसेको बैठकले सरकारी वकिल कार्यालयका जिम्मेबार वकिलसँग सुन तस्करलाई मुद्दा नचलाएको सम्बन्धमा स्पष्टिकरण लिने निर्णय गरेको हो ।

Lekha samiti

फाइल तस्विर

समितिका सदस्यहरुले सरकारी कार्यालयका वकिलहरु आर्थिक प्रभावमा परी सुन तस्करलाई कारवाहीको सट्टा उन्मुक्ति दिलाउन लागिपरेको आरोप लगाएका थिए । सुन तस्कर विरलै पक्राउ पर्ने गरेको र पक्राउ परेका पनि सरकारी वकिललाई घुस खुवाएर उम्कने गरेको उनीहरुको आरोप थियो ।

गत बैशाखमा चीनको खासाबाट नेपालमा सुन तस्करीमा संलग्न आकाशकुमार बज्राचार्य, बालकुष्ण अग्रवाल, श्रीराम चौधरीसहित १२ जना पक्राउ परेका थिए । उनीहरुलाई प्रहरीले प्रमाणसहित जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको थियो ।

तर वकिल कार्यालयले बैशाख २० गते प्रमाण नपुगेको भन्दै उनीहरुलाई थुनामा नराख्न प्रहरीलाई पत्राचार गरेको थियो ।