३ मंसिर, काठमाडौं ।

नागरिक समाजका अगुवाहरुले निर्वाचनको मुख्य विषय भनेको सुरक्षाको प्रश्न भएकाले यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउन आवश्यक रहेको बताएका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगले आईतबार गरेको छलफलमा नागरिक समाजका अगुवाहरुले यस्तो बताएका हुन् । छलफलमा पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले तीन वटा मतपत्रकाकारण मतदाता दोधारमा रहने अवस्था अन्त्य गर्न तथा मतपेटिका सुरक्षितरुपमा राखेको अनुभूति गराउन सरकार तयार रहनुपर्ने बताए ।

त्यस्तै उनले अहिले सुरक्षाका बिषयमा पनि नागरिकलाई आश्वस्त पार्नुपर्ने उल्लेख गरे । प्राध्यापक कृष्ण खनालले निर्वाचन आयोगलाई मतदाता संख्यालगायतका तथ्य र तथ्यांक वेभसाइटमा सजिलोसँग भेट्न सक्ने गरी राख्न सुझाव दिए ।

छलफलमा प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवले आगामी निर्वाचनलाई सफलरुपमा सम्पन्न गर्न नागरिक समाजलगायत सबैको योगदान आवश्यक रहेको बताएका थिए ।