८ असार, डोटी ।

स्थानीय तहको निर्वाचनमा आकांक्षी उम्मेदवारलाई धम्काउने सुरक्षाकर्मीका कमाण्डरहरु फिर्ता भएका छन् ।

डोटीको बड्डीकेदार गाउँपालिकामा स्थानीय निर्वाचनको लागि सुरक्षार्थ खटिएका नेपाली सेनाका क्याप्टेन ध्रुबबहादुर राणा र शसस्त्र प्रहरी बलका सशस्त्र प्रहरी निरिक्षक धनसिंह महरा फिर्ता भएका हुन् ।

उनीहरुले माओवादी केन्द्रबाट गाउँपालिकाका अध्यक्षका उम्मेदवार जंग बिक ‘शैलेन्द्र’ लाई धम्काएका थिए । मंगरबार साँझ नेपाली सेनाका क्याप्टेन राणा र शसस्त्र प्रहरी बलका प्रहरी निरिक्षक महराले उम्मेदवार जंग बिकलाई धम्की दिएका थिए ।

मंगलबार राति साबिकको बर्छैन गाविसमा रहेको एउटा गेष्ट हाउसमा बसिरहेका उम्मेदवारलाई सोही होटलमा धम्काएका थिए ।

‘म गेष्ट हाउसमा बसिरहेको थिए सेना र सशस्त्र प्रहरीका कमाण्डरहरुले सोही गेष्ट हाउसको माथिल्लो तलामा बोलाएका थिए’ अध्यक्षका उम्मेदवार बिकले भने, ‘अन्य सिपाहीहरुलाई पनि बोलाएर सबैको सामुन्नेमा मलाई धम्काए ।’

बिकका अनुसार उनीहरुले अत्याधिक मदिरा सेवन गरेका थिए । शसस्त्रका महराले आफु जनयुद्धको पनि सफल कमाण्डर भएको र ‘धेरै माओवादी मारेको छु म यहाँ पनि सफल हुन्छु, भन्दै धम्क्याएको बिकको भनाई छ ।

बिकले भन्नुभयो, ‘सेनाको क्याप्टेन र शसस्त्र प्रहरीको प्रहरी निरिक्षकले भनेको कुरालाई हामीले सामान्य रुपमा लिएका छैनौं, योजनाबद्ध ढंगले परिचालन भएको र अप्रिय घटना घट्न सक्ने हुँदा सरकारले त्यसमा ध्यान दिनुपर्छ ।’

शसस्त्र प्रहरी बलबाट डोटीको नेतृत्व गरिरहेका डिएसपी दिपक कुँवरले आफुलाई उक्त घटनाका बारेमा प्रारम्भीक जानकारी प्राप्त भएको र अनुसन्धानका लागि वडीमाली गण अत्तरीयावाट डिएसपी केशब प्याकुरेलको नेतृत्वमा टोली खटाएको जानकारी दिए ।

निर्वाचनको सुरक्षार्थ खटिएका सुरक्षा अधिकृतले माओबादी केन्द्रको तर्फबाट अध्यक्षका उम्मेदवारलाई धम्कि दिएपछि चुनाबी प्रचारप्रसारमा संलग्न माओबादी कार्यकर्ता आक्रोशित भएका छन् । सो क्षेत्रलाई सुरक्षाको दृष्टिकोणले अति सम्बेदनशील क्षेत्र मानिएको छ ।