१४ फागुन, बेरुत । सिरियाका प्रमुख दुई ओटा सुरक्षा मुख्यालय नजिकै भएका आत्मघाती हमलामा परी शनिबार ४२ जनाको मृत्यु भएको छ ।

जेनेभामा भइरहेको शान्ति बार्तालाई समेत असर पार्नेगरी सिरियाको होम्समा हमला भएको सरकारी टेलिभिजन र अनुगमनकर्ताले जनाएका छन् ।

“सुरक्षा निकायका दुई ओटा मुख्यालयको वरीपरि छ ओटा विस्फोटन भएका छन्,” सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका निर्देशक रमी अब्देल रहमानले एएफपीलाई जानकारी दिए ।

घटना भएको ठाउँ होम्स सन् २०१४ को मेदेखि पूर्णरुपमा सरकारको नियन्त्रणमा रहेको छ । तर पनि बम आक्रमण हुने क्रम भने दोहोरिइरहेको छ । गत वर्षको सुरुमा भएको आक्रमणमा ६४ जनाको मृत्यु भएको थियो ।

पछिल्लो विस्फोटनमा मृत्यु भएकालाई “सहिद” भन्दै सरकारी टेलिभिजनले समवेदना प्रसारण गरिरहेको छ । घटनाको अहिलेसम्म कुनैपनि समुहले जिम्मेबारी लिएको छैन । रासस/एएफपी