१९ साउन, परासी ।

नवलपरासीको सुस्तावासीलाई यतिबेला आफ्नै गाविसको कार्यालय आउन पनि निकै कठिन भएको छ ।

भारतको बाटो जाँदा भारतीय सुरक्षाकर्मीको चरम दुव्र्यवहार र नेपालको बाटो आउँदा नारायणी नदीमा निकै पानी हुने हुँदा डुङ्गाको जोखिमपूर्ण यात्राका कारण गाविसमा आउन जान पनि सुस्तावासीलाई निकै सास्ती भोग्नुपर्ने बाध्यता रहेको उनीहरुको भनाइ छ ।

Narayani river susta

सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खाँले भने, “आफ्नै गाविस कार्यालय भवन त्रिवेणी जानका लागि नेपालतर्फबाट नारायणी नदीमा पुल नभएकाले जोखिम पूर्ण डुङ्गा तरेर आउन पनि निकै समस्या छ ।

अन्य वैकल्पिक बाटो नहुँदा भारत विहारको बाटो हुँदै हिँड्दा भारतीय सुरक्षाकर्मीले दुःख दिने गरेका छन् ।

नारायणी नदीमा पुल बनाउने कुरा धेरै पटक चलेको भए तापनि अहिलेसम्म पुल निर्माण हुन नसक्दा दैनिकरुपमा चाहिने सामानका लागि सुस्तावासी भारतीय बजार जान बाध्य छन् । दुई सय ६५ घरधुरी रहेको सुस्तामा करिब दुई हजार ५०० जनसङ्ख्या छन् ।