२६ पुस, बागलुङ, । जिल्लाका सरकारी कार्यालयले सूचनाको हकको प्रभावकारी प्रचलनका लागि सोमबार सातबुँदे प्रतिवद्धता व्यक्त गरेका छन् ।

राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाको उपस्थितिमा कार्यालय प्रमुखले प्रतिबद्धता जाहेर गरेका हुन् । जिल्लास्थित सबै सरकारी कार्यालय र केही अन्य सार्वजनिक निकायका प्रमुख/प्रतिनिधिद्वारा हस्ताक्षरित प्रतिबद्धतापत्रमा सूचनाको हकलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने उल्लेख छ ।

सूचनाको हकको सम्मान र संरक्षण गर्ने, प्रत्येक तीन तीन महिनामा सूचना सार्वजनिक गर्ने, सूचना अधिकारी तोकी निजको एकीकृत विवरण कार्यालयमा राख्ने, कानुनले निर्धारित गरेको समय सीमाभित्रै सूचना मागकर्तालाई सूचना उपलब्ध गराउने आदि बूँदा प्रतिबद्धतापत्रमा उल्लेख छ ।

प्रजिअ भागीरथ पाण्डेयले सूचनाको हक कार्यान्वयनको अवस्थाबारे अनुगमन गरिने बताए ।

यहाँ भएको सूचनाको हकसम्बन्धी अभिमुखीकरण कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनाको हकले लोकतन्त्र मजबुत हुने उल्लेख गरे । रासस