२ साउन, काठमाडौं । नेपाली सेनाले एफएम रेडियो सञ्चालनका सम्बन्धमामा पत्रपत्रिकामा आएको समाचार र लेखरचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयले आज विज्ञप्ती जारी गर्दै भनेको छ, ‘विभिन्न विकसित तथा प्रजातान्त्रिक मुलुकहरुमा समेत सैनिक गतिविधिहरु बारे सैनिक तथा अन्य सरोकारवालाहरुलाई सू–सूचित गर्न रेडियो तथा टेलिभिजन सेवा सञ्चालन भए अनुसार नेपाली सेनाले पनि बहालवाला एवं भूतपूर्व सैनिक तथा सैनिकका आश्रित परिवारका सदस्यहरु र नेपाली जनतालाई आफ्ना गतिविधीबारे सू–सूचित गर्न नेपालको राष्ट्रिय प्रशारण ऐन २०४९ तथा प्रशारण नियमावली २०५२ को परिधि भित्र रही सञ्चालन गर्ने प्रयास गरिएको एफ.एम. रेडियो स्टेशनको प्रशंगलाई राष्ट्रिय राजनीतिसँग जोडी अन्यन्त फरक रुपमा प्रस्तुत गर्न खोजेको पाईएकोले यस बारे सम्पूर्ण सरोकारवालाहरुलाई स्पष्ट पार्न चाहन्छौं । ’

आफ्नो कर्तव्यका अलावा सूचनाको हकलाई समेत कदर गर्दै सूचना प्रवाहलाई अझ बढी प्रभावकारी बनाउन एफएम स्टेशन सञ्चालन गर्ने प्रयास गरिएको विज्ञप्तीमा उल्लेख छ ।

 ‘विगत २०७२ सालमा नेपालमा आएको विनाशकारी भूकम्पको समयमा सूचना प्रवाह सम्बन्धी महसुस भएको कठिनाईलाई समेत दृष्टिगत गरी भविश्यमा यस प्रकारको दैवि विपत्तिको अवस्थामा खोज, उद्धार तथा राहतको साथै जोखिम न्यूनिकरण सम्बन्धी सूचना प्रवाह गर्ने कार्य अझ प्रभावकारी बनाउन र आवश्यकता अनुसार पूर्व जनाउ दिने व्यवस्था समेत विकास गर्ने पवित्र उद्धेश्यले समेत यो प्रयास गरिएको कुरा सवैमा अवगत गराउन चाहन्छौं ।’ विज्ञप्तीमा भनिएको छ ।