११ फागुन, काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीले मातहतका पृतनापतिलाई पेसागत दक्षतालाई थप अभिवृद्धि र बन्दोबस्तीमा विशेष ध्यान केन्द्रित गर्न निर्देशन दिएका छन ।

सैनिक मुख्यालय जङ्गी अड्डामा मंगलबार आयोजित पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन । नेपाली सेनाको क्षेत्रगत रुपमा पाँच र काठमाडौँ उपत्यकामा एक गरी छ वटा पृतना रहेको छ ।

पृतना बैठकमा पृतनापतिले आ–आफनो कमान्ड क्षेत्रभित्रको सुरक्षा अवस्था, चुनौतीलगायत समसामयिक विषयमा मुख्यालयलाई जानकारी गराएका थिए । त्यस क्रममा सम्बन्धित विभागबाट वस्तुस्थितिको विश्लेषण तथा समीक्षा प्रस्तुत भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

नेपाली सेनाका उपरथीले पृतनाको नेतृत्व गर्दै आएका छन् । नियमित रुपमा हुने समन्वयात्मक बैठकमा आउने रचनात्मक सुझावले नेपाली सेनाको नीति निर्माणमा ठोस योगदान पु-याउने नेपाली सेनाले जनाएको छ ।

यस वर्षको एकदिने उक्त समन्वयात्मक बैठकको शुभारम्भमा बलाधिकृत रथी बलदेवराज महतले बैठकको उद्देश्य र आवश्यकताबारे जानकारी गराएका थिए । बैठकमा रक्षा सचिव श्रीधर सापकोटा, पृतनापतिलगायत जङ्गी अड्डाका कार्यालय, विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुख सहभागी थिए ।