२ साउन, काठमाडौं ।

नेपाली सेनाले रेडियो चलाउने तयारी गरेको लगायत व्यवसाय÷कारोबारमा समेत हात हालेको भन्ने समाचारप्रति मानव अधिकार तथा शान्ति समाजले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सेनाको यस्तो क्रियाकलाप लोकतान्त्रिक मुल्य मान्यता विपरित, व्यवसायिक सेनाको आचारण र मर्यादा विपरित भएको समाजको ठहर छ ।

‘सञ्चारमाध्यम सञ्चालन गर्ने सेनाको आकांक्षा राजनीतिलाई निर्देशित गर्न खोज्ने दुष्चक्रकै एउटा कडि हुनसक्छ जुन आपत्तिजनक छ, मानव अधिकार तथा शान्ति समाजका महासचिव उत्तम पुडासैनीले निकालेको विज्ञप्तीमा उल्लेख छ ।

सेना माथि राजनीतिक नियन्त्रण लोकतान्त्रिक व्यवस्थाको अनिवार्य प्रावधान भएको भन्दै समाजले सरकारले यो दुष्चक्रलाई रोक्दै सेनाको लोकतान्त्रिकरणको प्रक्रिया तिव्र बनाउन ढिलो नगर्न सुझाव दिइएको छ ।

त्यसका लागि सबैभन्दा पहिले सेनालाई प्रदान गरिएको रेडियो सञ्चालन गर्ने अनुमति खारेज गर्न माग गरिएको छ । राष्ट्रिय सुरक्षाको गहन अभिभारा बोकेको सेना स्वयंले पनि लोकतान्त्रिक समाजको मर्यादा र पेशागत आचार संहिताको पालना गर्दै अनावश्यक आकांक्षाबाट मुक्त भई विवादबाट टाढा रहन समाजले आग्रह गरेको छ ।

समाजले तत्कालिन रक्षामन्त्री बालकृष्ण खाँडलाई पनि भेटी नेपाली सेनाको लोकतान्त्रिकरणको बारेमा पनि ध्यानाकर्षण गराएको थियो ।