१० फागुन, काठमाडौं ।

स्वास्थ्य मन्त्रालयले आगामी १३ फागुनदेखि सर्वसाधारणले पनि वीरेन्द्र सैनिक अस्पतालबाट उपचार सेवा पाउने घोषणा गरे पनि आवश्यक तयारी थालिएको छैन । तयारी सुरु नहुँदा सरकारी घोषणा कार्यान्वयनमा नआउने देखिएको छ ।

सैनिक अस्पताल स्रोतले पनि १३ फागुनदेखि सर्वसाधारणलाई सैनिक अस्पताल खुला गर्न नसकिने जनाएको छ । विनातयारी सस्तो लोकप्रियताका लागि अभिव्यक्ति दिँदा समस्या देखिएको जानकारहरूले बताएका छन् । रक्षामन्त्री बालकृष्ण खाण र स्वास्थ्यमन्त्री गगन थापाले केही दिनअघि संयुक्त रूपमा सैनिक अस्पतालको भ्रमण गरेपछि महाशिवरात्रिदेखि सर्वधारणका लागि अस्पताल खुला गर्ने जनाएका थिए । तर, त्यसपछि आवश्यक तयारी भने सुरु गरिएको छैन ।

मन्त्रालयमा प्रस्ताव पठाउने तयारी
नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले आर्थिक व्यवस्थापनलगायतका विषयलाई समेटेर सर्तसहितको प्रस्ताव रक्षा मन्त्रालयमा पठाउने तयारी भइरहेको जानकारी दिए । कार्कीले सर्वसाधारणका लागि अस्पतालमा छुट्टै ढंगको संरचना, समय र संख्या तोकिने बताए । प्रक्रियागत ढंगले अगाडि नबढेपछि अस्पतालबाट सेवा लिन सर्वसाधारणलाई झन्झट हुने भन्दै कार्कीले यस विषयमा समयमै सचेत हुन सबै पक्षलाई आग्रह गरे ।

उनले सैनिक कल्याणकारी कोषमार्फत अस्पताल सञ्चालन रहेकाले सैनिक परिवार र सर्वसाधारणलाई एकै ठाउँबाट सेवा दिँदा समस्या हुने धारणा पनि राखे । कार्कीले सैनिक अस्पतालमा अहिले लगभग सयजना डाक्टर कार्यरत रहेको भन्दै यही जनशक्तिले सर्वसाधारणलाई सेवा दिन कठिनाइ हुने बताए ।

पहुँच दिँदा समस्या
रक्षामन्त्रीका निजी सचिव
रक्षामन्त्रीका निजी सचिव नरेन्द्र केसीले अस्पताल सर्वसाधारणका लागि खुलाउन समस्या रहेको बताए । ‘सेनाका पूर्वकर्मचारी र बहालवालाका परिवारजन पनि सर्वसाधारण जनता नै हुन् । उनीहरूको उपचार व्यवस्थापनमा समेत जटिलता देखिएको छ । यस्तोमा सबैका लागि खुला गराउनु हरेक हिसाबले चुनौतीपूर्ण छ,’ केसीले भने । सैनिक अस्पतालमा प्रत्येक दिन सरदर एक हजार बिरामीले सेवा लिँदै आएका छन् ।

मोडालिटीबारे छलफल केन्द्रित
स्वास्थ्य मन्त्रालयले सैनिक अस्पताल शिवरात्रिदेखि सर्वसाधारणका लागि खुला गर्ने विषयमा चारबुँदे सहमति भएको दाबी गरेको छ । सैनिक प्रवक्ता कार्कीले भने आन्तरिक रूपमा भइरहेको प्रारम्भिक छलफललाई निर्णय भइसक्यो भन्न नमिल्ने बताए ।

‘कुन मोडालिटीमा अस्पताल खुला गर्ने भन्नेबारे छलफल भइरहेको छ,’ प्रवक्ता कार्कीले भने, ‘अस्पतालको क्षमता, भौतिक पूर्वाधारको विकास, जनशक्ति व्यवस्थापन, कुन समयमा सेवा दिने भन्ने विषयसहितको समयतालिका, सुरक्षा संवेदनशिलताको चासोलाई पनि ध्यान दिनुपर्ने हुन्छ । यी सबै विषय अहिले छलफलकै चरणमा छन् ।’

छलफलकै चरणमा छौँ : सैनिक प्रवक्ता
नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले यो विषय छलफलकै चरणमा रहेको भन्दै स्वास्थ्य मन्त्रालयसँग अहिलेसम्म कुनै सहमति नभएको बताएका छन् । यद्यपि, प्रवक्ता कार्कीले नेपाली सेना सैनिक अस्पतालबाट आमजनतालाई सेवा प्रदान गर्न सकारात्मक रहेको बताए ।

‘सैनिक अस्पताल सर्वसाधारणका लागि खुला गर्नु सेनाका लागि पनि गौरवको कुरा हो । तर, त्यसको व्यवस्थापन चुनौतीपूर्ण छ,’ प्रवक्ता कार्कीले भने, ‘भौतिक पूर्वाधार, समय व्यवस्थापन, संख्यालगायतका विषयमा प्रारम्भिक छलफल मात्र चलेको छ, कुनै सम्झौता भइसकेको होइन ।’ आजको नयाँ पत्रिकामा खबर छ ।