५ जेठ, काठमाडौं ।

कांग्रेसले पहिलो चरणको स्थानीय निर्वाचनको परिणाम अपेक्षित नआएको निष्कर्ष निकालेको छ । कमजोरी सच्याएर दोस्रो चरणको निर्वाचनमा सफल हुने उसको योजना छ ।

‘जति राम्रो हुनुपर्ने सोचेका थियौँ, त्यति राम्रो भएको छैन भन्ने परिणामले देखाइरहेको छ,’ बिहीबार पदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यहरूको बैठकपछि महामन्त्री डा. शशांक कोइरालाले भने, ‘कांग्रेस र एमाले दुवैको मिश्रित परिणाम आइरहेको छ । अब अहिले देखिएका गल्तीलाई सच्चाउँदै दोस्रोमा हामी प्रभावकारी बनेर जाउँ भन्ने भएको छ ।’

केन्द्रीय कार्यालय सानेपामा भएको बैठकमा पहिलो चरणको निर्वाचन परिणाम र प्रदेश नं. १, २, ५ र ७ मा ३१ जेठमा हुने निर्वाचनको विषयमा छलफल भएको थियो । बैठकमा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरू गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, कृष्ण सिटौला, डा. रामशरण महत, ज्ञानेन्द्रबहानुर कार्की, महेश आचार्यसहितका नेता सहभागी थिए ।

देउवाले भने– दोस्रोमा करेक्सन गरौँ
कांग्रेस सभापति शेरबहादुर देउवाले अपेक्षित नतिजा नआए पनि २० वर्षपछि निर्वाचन हुनुलाई सफलता मान्नुपर्ने बताएका छन् । अब दोस्रो चरणको निर्वाचनमा केन्द्रित हुनुपर्ने उनले बताएका थिए । ‘हामीले जति सोचेका थियौँ, त्यस्तो नतिजा नआएको हो । तर, अझै पनि परिणाम आउन बाँकी छ,’ देउवाको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘२० वर्षपछि निर्वाचन गर्यौँ, यो नै सफलता हो । अब पहिलेका विषयलाई करेक्सन गरौँ ।’

कहाँ के कमजोरी भयो ?
सहरी क्षेत्रमा पार्टीको पक्षमा माहोल नबनेकोमा कांग्रेस बैठकमा समीक्षा भएको छ । अन्तिम समयमा उम्मेदवार चयन, तालमेल तथा प्रचारलगायतका विषयमा समीक्षा भएको थियो ।

‘सहरी क्षेत्र कांग्रेसको पुरानैदेखिको प्रभाव क्षेत्र हो । तर, अहिले जसरी भोटको ट्रेन्ड देखिएको छ, यस्तो हुने सोचेका थिएनौँ,’ बैठकमा सहभागी केन्द्रीय सदस्य डा. रामशरण महतले । पूरै नतिजा आएपछि फेरि समीक्षा बैठक गर्ने तयारी कांग्रेसको छ । आजको नयाँ पत्रिकामा खबर छ ।