६ वैशाख, एजेन्सी।

बलउिड पार्श्वगायक सोनू निगमको ट्विट विवाद थामिने संकेत देखिएको छैन।

अल्पसङ्ख्यक काउन्सिलका एक सदस्यले सोनुको टाउको खौरनेलाई व्यक्तिगत रुपमा १० लाख भारु पुरस्कार दिनेसम्म अभिव्यक्ति दिएका छन्।

पश्चिम बंगाल अल्पसंख्यक संयुक्त परिषदका उपाध्यक्ष सायद शा अतेफ अलि अल क्वादेरीले अजान माथिको सोनूको ट्विटलाई लिएर यस्तो घोषणा गरेका हुन।

यस्तो घोषणा गरिएको बारेको ट्विट ‘के यो चाहिँ धार्मिक गुण्डागर्दी होइन ?’ भन्दै सोनू आफैले रि-ट्विट गरेका छन्।

यता सोनू निगमको बचाउ गर्दै कमेडियन सुनिल ग्रोवरले सोनुको ट्विटले कुनै धार्मिक भावनामा ठेस पुर्याउन नसक्ने ट्विट गरेका छन्।

एक ट्विट गर्दै उनले लेखेका छन्, ‘म सोनू निगमलाई चिन्छु। उनले कुनै धार्मिक भावनामा ठेस पुर्याउन सक्दैनन्। उनी सबैको सम्मान गर्छन्। उनको कुरालाई साम्प्रदायिक रंग नदिऔँ।’

सोनु निगमको ट्विटको गलत मतलव निकालिएको भन्दै उनको पक्षमा नायिका ऋचा चड्ढा, रेणुका शहाणे लगायतले सामाजिक सञ्जालमा लेखेका छन्।

भएको के हो ?
सोनू निगमले सोमबार एक ट्विटमा लेखेका थिए, ‘भगवानले सबैलाई आर्शिवाद दिउन। म मुसलमान होइन र बिहानै अजानको कारण जाग्नु पर्छ। भारतमा यो थोपरिएको धार्मिकता कहिले समाप्त होला।’

यस्तो ट्विट पश्चात कयौंले उनलाई मुसलमान र इस्लामी विरोधीको आरोप लगाए। अनि अर्को तर्फ उनको समर्थनमा बलिउड विभाजित भयो।

सामाजिक सञ्जालमा हंगामा भएपछि सोनूले अर्को ट्विटमा लेखे, ‘जसलाई मेरो ट्विटलाई मुस्लिम विरोधी भनिरहेका छन् उनीहरुले भनुन कि मैले कहाँ त्यस्तो भनेको छु। म माफि माग्नेछु।’