१८ असोज, म्याग्दी । संसारकै सातौँ अग्लो धौलागिरि हिमाललगायत १६ वटा शिखरको हिमश्रृंखला, म्याग्दी र पर्वतका विभिन्न ३७ वटा गाउँ देखिने म्याग्दीको पर्यटकीय एवं रमणीयस्थल ‘गुफाको डिल’ पर्यटकको पर्खाइमा रहेको छ ।

म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा अवस्थित ऐतिहासिक महत्वको जगन्नाथ मन्दिर नजिकै पर्ने गुफाको डिल धार्मिक तथा पर्यटकीय आकर्षणका रुपमा रहेको छ ।

जगन्नाथ मन्दिर दर्शन एवं पूजाआजाका लागि पुग्ने जो कोही पनि एकैछिन भनेर गुफाको डिलमा पुग्ने गरेका छन् । बेनीको शिरमा रहेको गुफाको डिलबाट धौलागिरिसहित अन्नपूर्ण, माछापुच्छ«े, निलगिरि, मानापाथी, गुर्जा, गणेश हिमाललगायतका दर्जनौँ हिमालको प्रत्यक्ष अवलोकन गर्न पाइन्छ ।

धौलागिरि हिमालमा मात्रै विभिन्न छवटा चुचुरा छन् । त्यहाँ पुग्दा आफ्नो आँखै अगाडि देखिने सेताम्मे हिमालको आकर्षणले पर्यटक तान्न आतुर रहेको आभास हुन्छ ।

नांगो आँखाले गुर्जा हिमालदेखि माछापुच्छे«सम्म एकै नजरमा हेर्न पनि भ्याइन्छ । गुफाको डिलबाट हिमाल मात्रै होइन म्याग्दीका साविकका ४१ वटा गाविसमध्ये ३७ वटा गाविस एकै नजरमा सररर हेर्न सकिन्छ ।

यसैगरी, पर्वतको उत्तरी भू–भाग, बागलुङ जिल्लाको केही भाग र अन्य जिल्लाका डाँडाकाँडासमेत गुफाको डिलबाट देखिन्छ । गुफाको डाँडाबाट सबै किसिमका ठाउँ र दृश्य देखिने भएकाले एकपटक त्यहाँ पुगेर फोटो खिचाउनका लागि पनि मानिस पुग्ने गरेका स्थानीय नवीन बानियाँले जानकारी दिए ।

म्याग्दी सदरमुकाम बेनीबाट पैदल हिँडेर तीन घण्टा र गाडीमा एक घण्टाको समयमा पुगिने गुफाको डिल समुद्री सतहदेखि दुई हजार १०० मिटरको उचाइमा अवस्थित छ । गुफाको डिलमा दुईवटा हेलिकप्टर अवतरण गर्न मिल्ने ठाउँ पनि रहेको छ । उक्त ठाउँबाट सेताम्मे हिमाल र राताम्मे लालीगुराँसका वनजंगल देख्न पाइन्छ । त्यस ठाउँमा जुनसकै समयमा पनि ड्राई पिक्निकका लागि जान मिल्ने उपयुक्त ठाउँ रहेको त्यहाँ पुग्ने बताउँछन् ।

जगन्नाथ मन्दिरदेखि पाँच मिनेटको दूरीमा रहेको गुफाको डिलको प्रचारप्रसार तथा भौतिक पूर्वाधारको विकास गर्न सकेमा स्वदेशी र विदेशी पर्यटकहरु भित्र्याउन सकिने जगन्नाथ आधारभूत विद्यालयका प्रधानाध्यापक निलकण्ठ शर्माले बताए ।

प्रसिद्ध गलेश्वर मन्दिर, पौलस्त्य पुलहाश्रम र जगन्नाथ हुँदै पर्यटकीय क्षेत्र टोड्के जोड्ने पदयात्रा निर्माण गर्न सकेमा पनि पर्याप्त मात्रामा पयर्टक तान्न सकिने उनको भनाइ छ ।

सन् १५६० मा तत्कालीन राजा दिलीपबम मल्लले भारतको उडिसा राज्यबाट जगन्नाथको मूर्ति ल्याएर जगन्नाथ मन्दिरको स्थापना गरेको हुँदा त्यसैका कारण गाँज्ने गाउँमा मदिरा उत्पादन र कुखुरापालन गर्न निषेध गरिएको किंवदन्ती रहेको छ । मन्दिरको यस्तैखाले विशेषताका कारण पनि जगन्नाथ दर्शन र गाँज्ने गाउँ तथा गुफाको डिल हेर्न मानिस पुग्ने गरेका छन् । —ध्रुवसागर शर्मा/रासस