बलिउड नायक टाइगर श्रोफ सहित अनन्या पान्डे र तारा सुतारिया स्टारर ‘स्टुडेन्ड अफ द इयर २’ले दोस्रो दिन कमाइ बढाएको छ।

पहिलो दिन फिल्मले १२.०६ करोड भारु कमाएको थियो। दोस्रो दिन १४.०२ करोड भारु कमाएको छ। यसरी शुक्रबार र शनिबार गरेर २६.०८ करोड भारु कमाइसकेको छ।

यो फिल्म कुनै डेब्युटेन्टको सबैभन्दा बढी कमाइ गर्ने फिल्म बनेको छ। फिल्म रिलिज भएपछि तारा र अनन्याले सबैभन्दा ठूलो ओपनर डेब्युटेन्टको रेकर्ड बनाएका हुन। यो भन्दा अघि जाहन्वी कपूर र इशान खट्टरले आफ्नो पहिलो फिल्म ‘धडक’ बाट यो रेकर्ड बनाएका थिए। ‘धडक’ले पहिलो दिन ८.७१ करोड भारु कमाएको थियो।

यो सूचीमा दोस्रो नम्बरमा आलिया भट्ट, वरुण धवन र सिद्धार्थ मल्होत्राको डेब्यू फिल्म ‘स्टुडेन्ट अफ द इयर’ छ। स्टुडेन्ट अफ इयरले पहिलो दिन ७.४८ करोड भारु कमाएको थियो। यो सूचीको चौथो नम्बरमा सारा अली खानको फिल्म ‘केदारनाथ’ छ जसले पहिलो दिन ७.२५ करोड भारु कमाएको थियो।

यो समय रमजान परेको भएकाले यसले फिल्मको बिजनेसमा प्रभाव पार्ने छ, तापनि ‘स्टुडेन्ट अफ द इयर २’ले बक्स अफिसमा राम्रै कमाइ गर्ने छाँट देखाएको छ। फिल्म गएको शुक्रबार रिलिज भएको थियो।