१३ चैत, धनगढी ।

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले कञ्चनपुरका गोविन्द गौतमहरुको वीरतापूर्ण सहादतले यो देशको एक मुठी जमिन पनि हामी मिच्न दिंदैनौ भन्ने प्रमाणित गरेको बताएका छन् ।

हिमाल, पहाड, तराई–मधेश–थरुहट राष्ट्रिय अभियानको क्रममा धनगढीमा पत्रकारसँग डा. भट्टराईले हाम्रा पुर्खाले खुकुरीको भरमा लडेर बनाएको मुलुक भन्दै एक मुठी जमिन पनि कसैलाई मिच्न नदिने हिम्मत नेपालीमा रहेको बताए ।

हिमाल, पहाड, तराई–मधेश–थरुहट राष्ट्रिय अभियानको मुख्य लक्ष्य नेपालको जातीय, क्षेत्रीय विविधतालाई सम्बोधन गर्दै राष्ट्रिय एकता बलियो बनाएर देशलाई समृद्धिको दिशामा लैजानु रहेको उनको भनाई छ ।

‘हामी सबै ७ सय ४४ स्थानीय तहको चुनावमा सहभागी हुन्छौं, प्रदेश र केन्द्रमा पनि स्वतः हुन्छौं’ उनले भने, ‘तर, यो स्थानीय तहको चुनाव भएपछि सबै समस्याहरु हल हुन्छन् भन्ने जुन भ्रम छ, त्यो सत्य होइन तीनवटै चुनावहरु अन्तरसम्बन्धित छन् । सबै समस्या हल हुनेगरी तीनवटै चुनाव एकैचोटी गर्नुपर्छ ।’

संविधान संशोधनले असन्तुष्ट पक्षहरुको माग सम्बोधन गर्ने र त्यसले चुनावको वातावरण बनाउने उल्लेख गर्दै संयोजक भट्टराईले संविधान संशोधनमार्फत संघीयता र सीमांकनको विषय टुंगोमा पुर्याएर तीनवटै तहको चुनाव एकैचोटी गर्दा उपयुक्त र सहज हुने बताए ।

‘संविधान संशोधन हाम्रो आफ्नै आन्तरिक मामिला हो, यसमा कुनै छिमेकीलाई दोष दिनु उचित होइन, भट्टराईले भने ।

पत्रकारहरुको जिज्ञासा सम्बोधन गर्दै भट्टराईले राज्यको पुनःसंरचना आयोग र समितिको प्रतिवेदन अनुसार संघीय स्वरुप बनाएको भए संघीयताको व्यवस्थापन सहज हुने तर्क गरे ।

अहिले कायम गरिएको ७ प्रदेशमै गएपनि प्रदेशहरुको सीमा हेरफेर गरेर समाधान खोज्न सकिने उनको भनाई थियो । ‘सीमा हेरफेर गर्नुहुँदैन भन्ने केही छैन, आवश्यकता अनुसार हेरफेर गर्न सकिन्छ, गर्नुपर्छ’ उनले भने ।