२ असोज, काठमाडौं ।
सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा हालसम्म १४ हजार कर्मचारी खटाएको छ । तर, कार्यक्षेत्रमा भने चार हजार कर्मचारी मात्र पुगेका छन् । खटाएकामध्ये दश हजार कर्मचारी बीचैमा हराएको मन्त्रालयको भनाइ छ । ती कर्मचारी कहाँ गए भन्ने कुनै जानकारी नभएको र उनीहरूको खोजी भइरहेको मन्त्रालयले जनाएको छ ।

धेरै स्थानीय तहले अहिलेसम्म कर्मचारी नपाएको गुनासो गरेपछि सामान्यले खटाइएका कर्मचारीको विवरण संकलन गरेको थियो । मन्त्रालयले सफ्टवेयरमार्फत प्रत्येक जिल्लाबाट कुन स्थानीय तहमा कति कर्मचारी पुगेका छन् ? खटिएको मिति, उनीहरूको नामावली, स्थानीय तहमा उनीहरूको जिम्मेवारीलगायत विवरण संकलन गरेको थियो । त्यसरी विवरण संकलन गर्दा करिब चार हजार कर्मचारी मात्र स्थानीय तहमा खटिएको पाइएको सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले जानकारी दिए । आजको नयाँ पत्रिकामा खबर छ ।

कहाँबाट कति कर्मचारी खटिए ?
जिल्लामा प्रमुख जिल्ला अधिकारी नेतृत्वको स्थानीय कर्मचारी व्यवस्थापन गर्न गठित जिल्ला समन्वय समितिहरूले नौ हजार कर्मचारी स्थानीय तहमा खटाएको जानकारी सामान्य प्रशासन मन्त्रालयलाई दिएका थिए । मन्त्रालयका अनुसार केन्द्रीय तहबाट ५ हजार कर्मचारी खटाइएको थियो । त्यसमध्ये स्थानीय तहमा करिब चार हजार कर्मचारी मात्र भेटिएको सामान्यका निमित्त सचिव बाबुराम रिजालले बताए ।

लेखाका अधिकांश कर्मचारी पनि स्थानीय तहमा छैनन्
स्थानीय विकास मन्त्रालयले लेखाका कर्मचारी नहुँदा स्थानीय तहको काम प्रभावित बनेको जनाएको छ । मन्त्रालयका सचिव दिनेश थपलियाले स्थानीय तहमा बजेट पुगे पनि लेखा प्रणाली व्यवस्थित गर्ने कर्मचारी नहुँदा समस्या देखिएको बताए । ‘स्थानीय तहमा बजेट गइसक्यो, तर लेखाप्रणाली सञ्चालन गर्ने लेखाका कर्मचारी नहुँदा स्थानीय तहको विकास निर्माणको काम प्रभावित भइरहेका छन्,’ उनले भने ।

महालेखा नियन्त्रकको कार्यालयले ७४३ स्थानीय तहमा लेखाको कर्मचारी खटाएको विवरण सामान्य प्रशासन मन्त्रालयलाई बुझाएको छ । तर, लेखाका कर्मचारी पनि ‘महालेखा नियन्त्रणको कार्यालयले ७४३ कर्मचारी स्थानीय तहमा खटाएको विवरण हामीलाई दिएको छ । तर, स्थानीय तहले लेखाको कर्मचारी पाइएन भनेपछि त्यहाँका कर्मचारी पनि खोज्नुपर्ने भएको छ,’ सामान्य प्रशासन मन्त्रालयका सूचना अधिकारी नमराज घिमिरेले भने ।

हराएका कर्मचारी खोजिने
सामान्यले स्थानीय तहमा खटाइएका, तर खटिएको ठाउँमा नपुगेका कर्मचारीको खोजी भइरहेको बताएको छ । निमित्त सचिव रिजालले खटाएको ठाउँमा नजाने कर्मचारीलाई नियमअनुसार कारबाही गर्ने बताए । ‘सरकारले खटाएको ठाउँमा कर्मचारी नजाने भन्ने हुँदैन, उनीहरूको विवरण संकलन गरेर आवश्यक कारबाही हुन्छ,’ उनले भने ।

खटाएका ठाउँमा किन गएनन् कर्मचारी
स्थानीय विकास मन्त्रालयले कर्मचारीहरू सकेसम्म नजाने र गए पनि हाजिर गरेर जिल्ला फर्किने समस्या रहेको बताएको छ । खटाएको ठाउँमा नजानेमा अधिकांश शिक्षा समूह र प्राविधिक समूहतर्फका कर्मचारी छन् । सचिव दिनेश थपलियाले कर्मचारीहरू स्थानीय तहमा नगएर जिल्ला कार्यालयमै हाजिर गरेर बस्ने समस्या रहेको बताए ।

‘काजमा खटाएका कर्मचारीले चिठी बुझे, तर स्थानीय तहमा नगएर पुरानै जिल्ला कार्यालयमा हाजिर गरेर बसे,’ उनले भने, ‘स्थानीय तहलाई प्रशासनिक नियन्त्रणको अधिकार नदिँदा कर्मचारीहरू खटाएको ठाउँमा नपुगी बीचैमा हराइरहेका छन् ।’ उनका अनुसार महिला विकास कार्यालयका १५ सय कर्मचारी स्थानीय तहमा खटिएका छन् । तर, एकजना मात्र हाजिर भएका छन् ।