२८ साउन, काठमाडौं। सङ्घीयता पूर्ण रूपमा कार्यान्वयन भएसँगै स्थानीय तह सञ्चालनका लागि १६ हजार कर्मचारी आवश्यक हुने गरी सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले खाका तयार गरेको छ ।

मन्त्रालयले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको वडा, शाखा र महाशाखामा गरी १६ हजार १६ जना कर्मचारी आवश्यक पर्ने खाका तयार गरेको हो ।

४७९ गाउँपालिका र २६५ नगरपालिकामा गरी त्यतिका कर्मचारी आवश्यक हुने मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले जानकारी दिनुभयो । मन्त्रालयले स्थानीय तहमा आवश्यक दरबन्दीको खाका तयार गरी स्थानीय तह सञ्चालनका लागि १६ हजार कर्मचारी आवश्यक पर्ने प्रारम्भिक प्रतिवेदन तयार गरेको हो । आजको गोरखापत्रमा खबर छ ।

उहाँका अनुसार हाल निजामती कर्मचारी ८६ हजार ५३२ र स्थानीय तहको कर्मचारी १७ हजार सात सय छन् । उक्त कर्मचारीले मात्र स्थानीय तह सञ्चालन गर्न नसकिने भएपछि अब १६ हजार कर्मचारी गाउँपालिका र नगरपालिका सञ्चालन गर्न आवश्यक पर्छ ।

स्थानीय तहमा सामान्य प्रशासन, सहरी विकास, सामाजिक विकास, योजना अनुगमन तथा वैदेशिक सहयोग, भूमि व्यवस्थापन तथा भवन निर्माण न्याय कानुन तथा मानव अधिकार प्रवद्र्धन र राजस्व तथा आर्थिक प्रशासन शाखाहरू रहनेछन् । आवश्यकताअनुसार अन्य शाखाहरू पनि गठन गर्न सकिने मन्त्रालयले जनाएको छ ।

चार सय ७९ गाउँपालिकाको तीन हजार ४१० वडामा नासु र प्राविधिक इन्जिनियर डेढ हजार, २४८ नगरपालिकाका दुई हजार ८७३ वडा कार्यालयमा नासु र प्राविधिक गरी दुई हजार चार सय कर्मचारी आवश्यक पर्छ ।

त्यस्तै ११ वटा उपमहानगरपालिकाको २३२ वडा कार्यालयमा शाखा अधिकृत, इन्जिनियर र सब इन्जिनियर गरी छ सय र छवटा महानगरपालिकाका १६९ वडामा एक सय शाखा अधिकृत र इन्जिनियर गरी ३४८ सय कर्मचारी आवश्यक पर्ने र अन्य कर्मचारी उक्त स्थानीय तहको केन्द्रमा रहेन गरी प्रारम्भिक खाका तयार गरेको हो ।

प्रवक्ता तामाङका अनुसार स्थानीय तहमा आवश्यक उक्त कर्मचारी प्रदेश लोकसेवा निर्माण गरी एक वर्षभित्रमा पूर्ति गर्ने योजना सरकारको छ । तत्काल भने सरकारले कर्मचारी काजमा खटाएर सेवा प्रवाह गर्दै आएको छ ।

नेपाल निजामती कर्मचारी आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बनाएको खाकाअनुसार स्थानीय तहमा कर्मचारी नपुग्ने बताउनुभयो ।

उहाँका अनुसार एउटा गाउँपालिकामा कम्तीमा पनि ७० जना गरी ४७९ गाउँपालिकामा न्यूनतम ३३ हजार ५३० र २६५ नगरपालिकामा न्यूनतम दुई सय गरी ५३ हजार कर्मचारी आवश्यक हुन्छ । मन्त्रालयले बनाएको खाकाअनुसार स्थानीय तहमा कर्मचारी अपुग हुने उहाँले दाबी गर्नुभयो ।