२५ असोज, एजेन्सी ।

मोबाइल फोन उत्पादक कम्पनी सामसुङले विश्वभरका आफ्ना सबै विक्रेताहरुलाई ग्यालेक्सी नोट सेभेनको विक्री रोक्न आव्हान गरेको छ ।   galaxy-7-samsung
उक्त फोनको ब्याट्री पड्किएर आगो लाग्ने गरेको र त्यसपछि साटिएका फोनहरुमा पनि उस्तै समस्या देखिएको खबरहरुमाझ सामसुङले यस्तो आह्वान गरेको हो। ग्यालेक्सी नोट सेभेनमा देखिएको समस्याले दक्षिण कोरियाली कम्पनीलाई ठुलो धक्का पुर्याएको छ।
सामसुङ ग्यालेक्सी नोट सेभेन फोनका ब्याट्रीहरु पड्किएर आगो लागेका घटनाहरु भएपछि बजारबाट २५ लाख फोन सेटहरु फिर्ता गरिएको थियो। तर तिनको साटो दिइएका फोनहरुमा पनि आगो लाग्न रोकिएन।

एप्पलको पछिल्लो फोन आइफोन सेभेनको प्रतिस्पर्धा गर्न ल्याइएको यो फोनलाई विश्वभरीका सबै विक्रेतालाई बेच्न बन्द गर्न कम्पनीले गरेको यो आह्वान कठोर छ। र, यो फोन किनिसकेका सबै उपभोक्ताले यसलाई स्वीच अफ गर्नुपर्छ र यसको प्रयोग बन्द गर्नुपर्छ। कम्पनीले फोन फिर्ता मागेको यो दोस्रोपटक हो।

नयाँ ग्यालेक्सी नोट सेभेनहरुमा आगो लाग्न थालेपछि स्यामसंगले आफ्ना उपभोक्तालाई फोन फिर्ता गर्न भनेको थियो। तर त्यसको सट्टामा दिइएका फोनहरुमा पनि उस्तै समस्या देखिएपछि अनिश्चित समयका लागि तिनको प्रयोग गर्न नसकिने भएको छ।

यसैबीच सामसुङले आइफोनको केही अंश चोरेको भन्ने आरोपमा तिर्नुपर्ने ४० करोड डलर रुपैँयाबारे मंगलबार उसले अदालतमा आफ्नो तर्फबाट बहस गर्दैछ। ग्यालेक्सीमा देखिएको समस्या र अर्काको सामानको अधिकारको उल्लंघन गरेको कारणले सामसुङले थुप्रै मुद्दामामिला झेलिरहेको छ।