त्रेता युगमा नारायणको मानवरूपी श्रीरामका महान् भक्त हनुमानप्रति समर्पीत भएर १६औँ शताब्दीका भारतीय कवि, दार्शनिक तथा महान् साधु ‘श्री गोस्वामी तुलसीदास’ले रचेका भजन नै ‘हनुमान चालिसा’ हो। युवावस्था हुँदा नै अवधी भाषामा तुलसीदासले हनुमान चालिसा रचेका थिए।
हनुमान चालिसालाई हिन्दु धर्ममा एकदमै पवित्र मानिन्छ। किनभने यसमा श्रीरामभक्त हनुमानको वीरता, महानता र भक्तिको गान गाइएको छ। अधर्मप्रति धर्मको विजयको गान गाइएको छ।
अचम्मको कुरा त के छ भन्दा, हिन्दु धर्मावलम्बीहरूले अझैपनि हनुमान जिउँदै छन् भन्ने विश्वास गर्छन्। हुन त, उनलाई स्वयं श्रीराम र सीतादेवीले नै अमरत्वको वरदान दिएका थिए। फेरि द्वापर युगमा महाभारतको पालामा पनि हनुमानको प्रसङ्ग उल्लेख गरिएको छ।
यो पनि विश्वास गरिन्छ कि, हनुमान चालिसाका रचयीता ‘तुलसीदास’ले समेत अमर हनुमानको दर्शन पाएका थिए। उनले कैयौँ ठाउँमा आफुले हनुमानको दर्शन गर्ने मौका पाएको कुरा खुलाएका थिए।
तुलसीदासकै शिष्य ‘प्रियदास’ले आफ्नो ‘भक्तिरासवोधनी’मा आफ्ना गुरुले कसरी हनुमानको दर्शन गर्ने मौका पाएका थिए भनेर उल्लेख गरेका छन्। प्रसङ्ग यस्तो खालको छ–
हरेक दिन विहानै तुलसीदास चित्तशुद्धको लागि बनारसबाहिर पर्ने जङ्गलमा जाने गर्थे। त्यहाँ जाँदा उनले सँधै एक भाँडा पानी लैजाने गर्थे, जुन उनले एउटा वृक्षको फेदमा चढाउने गर्दथे। त्यस वृक्षको फेदमा एक आत्माले बास गर्ने गर्थे र उसैको तृप्ती मेटाउनका लागि तुलसीदासले दिनहुँ पानी लैजाने गर्थे।
तुलसीदासको यस्तो भक्ति देखि प्रसन्न भएर एक दिन उक्त वृक्षआत्मा प्रकट भए र तुलसीदासलाई वरदान माग्न भने। तुलसीदासले पनि तुरुन्तै आफूले श्रीरामसँग भेट्न चाहेको इच्छा प्रकट गरे। तर उक्त आत्माले श्रीरामसँग भेटाउन असमर्थ भएपनि श्रीरामभक्त हनुमानसँग भेटाउने वरदान दिए।
अर्को दिन, तुलसीदासको भजनगृहमा एक वृद्ध कुष्ठरोगी पनि आइपुगे। उक्त वृद्ध त्यहाँ आइपुग्ने पहिलो व्यक्ति मात्रै थिएनन्, ऊ त्यहाँबाट निस्कने अन्तिम व्यक्ति पनि थिए। त्यसेले तुलसीदासले उसलाई पछ्याउँदै जङ्गलतर्फ लागे। तुलसीदासले उक्त वृद्धको वास्तविक पहिचान चिनिसकेको बताएपछि त्यस वृद्धले पनि आफ्नो वास्तविक रूप धारण गरेर तुलसीदासलाई आफ्नो दर्शन दिए।
१६औँ शताब्दीमा तुलसीदासले हनुमानको दर्शन गरेको ठाउँलाई आज भारतको ‘सङ्कट मोचन मन्दिर’ भनेर चिनिन्छ।