६ असोज, खोटाङ । रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी एक वृद्धा मृत फेला परेकी छन् । घरमा कसैले थाहा नपाई सम्पर्कविहीन बनेकी ७१ वर्षीया भक्तिमाया राई तीन दिनपछि मृत फेला परेकी हुन् ।

गत मंगलबार बेलुकादेखि हराएकी वृद्धालाई खोजी गर्ने क्रममा बिहीबार बेलुका मृत फेला पारिएको स्थानीयले बताएका छन् । स्थानीय हात्तीराम राईका अनुसार घरनजिकै रहेको भिरको फेदमा वृद्धालाई मृत फेला पारिएको हो ।

घटनास्थलको प्रकृति हेर्दा वृद्धाको भिरबाटै लडेर मृत्यु भएको हुनसक्ने स्थानीयको अनुमान छ । वृद्धाको शवनजिकै झारपात लतारिएको र शवसमेत क्षत्बिच्छेत् अवस्थामा रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

स्थानीयले वृद्धाको शव फेला पारेपछि आफूहरुलाई खबर गरेको र घटनास्थलमा प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए । प्रनाउ थापाका अनुसार वृद्धाको मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।

वृद्धाको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ ल्याइँदै गरिएको प्रहरीले जनाएको छ । घटनास्थल सदरमुकाम दिक्तेलको उत्तरपूर्वी क्षेत्रमा पर्दछ ।