९ असार, काठमाडौं ।

निर्वाचनको सुरक्षाका लागि भन्दै गृह मन्त्रालयले नेपाल प्रहरीका तीनवटा क्षेत्रमा थप डिआइजी खटाएको छ । एकै क्षेत्रमा दुई डिआइजी खटाउँदा चेन अफ कमान्डमा समस्या देखिएको छ । गृह मन्त्रालयले एक साताअघिदेखि पूर्वमा केदारमानसिंह भण्डारी, मध्यपश्चिममा देवेन्द्र सुवेदी र सुदूरपश्चिममा माधव नेपाललाई खटाएको छ ।

अनुगमन तथा अप्रेसनसहितको जिम्मेवारी दिएर उनीहरूलाई खटाइएको छ । ती क्षेत्रमा एकै पदका दुई कमान्डर हुँदा समस्या भएको हो । पूर्व क्षेत्रको प्रहरी प्रमुखमा रमेश भट्टराई, मध्यपश्चिममा विजयलाल कायस्थ र सुदूरपश्चिममा रोमेन्द्रसिंह देउजा कार्यरत छन् । गृहले आफ्नै ब्याचका अन्य डिआइजीलाई खटाएपछि उनीहरू असन्तुष्ट रहेको स्रोत बताउँछ । अर्को तर्फ दुई डिआइजीको निर्देशन फरक हुने भएकाले कसको निर्देशन मान्नेसमेतको समस्या देखिएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

मध्य क्षेत्रमा भने हाल चुनाव नभएकाले डिआइजी खटाइएको छैन । पश्चिम क्षेत्रमा भने एसएसपीलाई मात्र खटाइएको छ । पश्चिमाञ्चल क्षेत्रका नवलपरासीमा एसएसपी सुरेशविक्रम शाह र कपिलवस्तुमा दीपक थापा खटिएका छन् । जिल्लामा एसपी इन्चार्ज हुनेमा एसएसपीलाई खटाइएकाले यी जिल्लामा भने समस्या छैन ।

सिलवाल र चन्द दुवै तनावमा

नेपाल प्रहरीका दुई विवादास्पद डिआइजी अहिलेसम्म तनावमा छन् । सरकारद्वारा आइजिपीमा नियुक्त र अदालतको निर्णयद्वारा जिम्मेवारविहीन डिआइजी जयबहादुर चन्दको कुनै विभाग छैन । त्यस्तै, अदालतले आइजिपीमा नियुक्त गर्न आदेश दिएर पनि सरकारद्वारा अस्वीकृत डिआइजी नवराज सिलवाल पनि बिदामा छन् । सिआइबी प्रमुखको पदमा यथावत् भए पनि उनी तनावले बिदामा छन् । सरकारले १ फागुनमा चन्दलाई आइजिपी बनाउने निर्णय गरेकोमा सोही दिन अदालतले सो निर्णय कार्यान्वयन नगराउन आदेश दिएको थियो । पछि उनको नियुक्ति नै खारेज भएको थियो ।

त्यसयता उनले गृहमा हाजिर गर्दै आएका छन् । एआइजीमा बढुवा गरेर उनलाई जिम्मेवारी दिने आश्वासन दिइएको थियो । तर, हालसम्म एआइजी बढुवाको प्रक्रिया नै सुरु भएको छैन । एआइजी नहुँदा सबै विभाग निमित्तका भरमा चलेका छन् । प्रहरीमा कति एआइजी राख्ने भन्ने अन्योल छ । तीन वर्षअघि सरकारले तीनजना मात्र एआइजी राख्ने निर्णय गरेको थियो । हाल एआइजीका दाबेदारहरू धेरै भएकाले दरबन्दी थप्न दबाब छ ।

गृहमन्त्री जनार्दन शर्माले मन्त्रीमा नियुक्त भएकै भोलिपल्ट प्रहरीमा बढुवा अघि बढाइने बताएका थिए । बुधबारदेखि बढुवा त सुरु भएको छ, तर सइ तहको बढुवा अघि बढाइएको छ । बुधबार दुई सय सातजना असइलाई सइमा सिफारिस गरिएको छ । नेपाल प्रहरीमा डिआइजीको पद ६ महिनादेखि नै रिक्त छ । त्यस्तै, एसएसपी, एसपीलगायतका दर्जनौँ पद लामो समयदेखि रिक्त छन् । माथिल्लो पदहरू रिक्त भए पनि गृह र प्रहरी नेतृत्व बढुवामा चासो नदिँदा संगठनमा नैराश्यता बढ्दै गएको छ । असारभित्र बढुवाको प्रक्रिया सुरु नभए नया“ आर्थिक वर्ष सुरु भए पनि कात्तिकपछि मात्र बढुवा गर्न पाइने प्रहरी नियमावलीको प्रावधान छ ।