४ मंसिर, धनगढी । धनगढीको पुरानो हवाईमैदानको खाली जग्गा ओगटेर बसेका मुक्तकमैया जग्गाधनी पुर्जा नपाउँदै ओगटेको जग्गामा पक्की घर निर्माण गर्न थालेका छन् ।

नगर विकास समितिले आफूहरुलाई पाँच÷पाँच धुर जग्गा दिने भनेकाले ओगटेको जग्गामा पक्की घर निर्माण गर्न थालेको मुक्तकमैयाले बताएका छन् ।

नगर विकास समितिले आफू बसेको जग्गाको कित्ताकाट गरिसकेकाले जग्गामा पक्की घर निर्माण गरिएको पूर्व कमैया होरीलाल चौधरीले बताए ।

घर निर्माणको सीप सिकेका मुक्तकमैयाले जग्गा ओगटेर बसेकाको पालैपालो घर चुनाइको काम गर्दै आएका छन् । दश जनाको समूहले पालैपालो मुक्तकमैया परिवारको घर चुनाइ गर्ने गरेका छन् । सिमेन्टको गाह्रो र इट्टाको चुनाइ आफै गर्नुपर्दा निर्माण लागत केही कम परेको पूर्व कमैया सीताराम चौधरीले बताए ।

धनगढीको पुरानो हवाईमैदानमा बसेका ५३ मुक्तकमैया परिवार मध्ये १५ परिवारले पक्की घर निर्माण गरिरहेका छन् । अरु परिवारले पनि पक्की घर निर्माणको तयारी थालेका छन् । धनगढी नगर विकास समितिले हवाईमैदानमा बसेकालाई सोही ठाउँमा जग्गा दिने निर्णय गरेको भए पनि मुक्तकमैयाले अहिलेसम्म जग्गाको पुर्जा भने पाएका छैनन् ।

जिल्ला भूमिसुधार अधिकारी एवं मुक्तकमैया पुनःस्थापना जिल्ला समितिका सदस्य सचिव लोकराज जोशीले कैलालीमा कूल आठ हजार ९१० मुक्तकमैया परिवार रहेकोमा आठ हजार २०३ परिवारको पुनःस्थापना गरिसकिएको छ ।

नौ सय ७४ परिवारको अझैसम्म पुनःस्थापना हुन बाँकी छ । मुक्तिपछिका दिनमा पूर्व कमैया घर चुनाइ गर्ने, सिँलाइकटाइ गर्ने, बंगुर तथा कुखुरापालन, काठको काम गर्ने, रिक्सा चलाउने काम गरी जीविका चलाउँदै आएका छन् ।