१९ मंसिर, गजनी, अफगानिस्तान । अफगानिस्तानको गजनी प्रान्तमा अफगान हवाई बलले आइतबार गरेको हवाई कारबाहीको क्रममा कम्तीमा तीन तालिवान कमाण्डर मारिएका छन् । उक्त क्षेत्रमा गुडिरहेको एक सवारी साधनलाई लक्षित गरेर सो कारबाही भएको एक स्थानीय अधिकारीले सोमबार जानकार दिएका छन् ।

एक सवारी साधनमा रहेका तालिवान आतङ्ककारी समूहलाई लक्ष्यगरी अफगान हवाई सुरक्षाबले गरेको यस कारबाहीमा परी तीन तालिवान स्थानीय कमाण्डर मारिएका छन् । साथै अन्य छ घाइते भएका गजनी प्रान्तका प्रहरी प्रमुख मोहम्मद जमानले सिन्ह्वा समाचार समितिलाई बताएका छन ।

हवाई कारबाहीमा आतङ्ककारीको सवारी साधन भने पूर्णरुपमा ध्वस्त भएको अफगान सरकारी स्रोतले जनाएको छ । यस कारबाहीको विषयमा तालिवान आतङ्ककारी समूहले हालसम्म कुनै टिप्पणी गरेका छैनन् ।

यसैबीच अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा भएको चालकरहित हवाई आक्रमणमा कम्तीमा छ इस्लामिस्ट स्टेट्स (आइएस)आतङ्ककारी मारिएका प्रान्तीय गभर्नरका प्रवक्ता अताउल्लाह खोगीआनीले बताएका छन ।

हस्का मिना जिल्लामा भएको यस मानवरहित विमान कारबाहीमा परी छ आतङ्ककारी मारिनुको साथै अन्य केही घाइते भएका अधिकारीहरुले जनाएका छन् । आइएस आतङ्ककारी समूहले भने यस कारबाहीको विषयमा हालसम्म केही टिप्पणी गरेका छैनन् । रासस/सिन्ह्वा