६ चैत, काठमाडौं । हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन स्वास्थ्यकर्मीहरु आजपनि घरघरमा जाने भएका छन् । परजिविबाट संक्रमित लामखुट्टेको टोकाईबाट सर्ने हात्तिपाईले रोगको निवारणका लागि हिजोदेखि दुई चरणमा विभिन्न जिल्लामा हात्तिपाईले विरुद्धको औषधी खुवाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पहिलो चरणमा हिजो, आज र भोली, भोजपुर, इलाम, धनकुटा, तेहथुम, पाँचथर, ललितपुर, बाग्लुङ, म्याग्दी, पर्वत, लमजुङ, दाङ, बाँके, बर्दिया, जाजरकोट, सुर्खेत दैलेख, बैतडी, डडेल्धुरा, डोटी ,कैलाली, कञ्चनपुर, अछाम, बझाङ, बाजुरा र दार्जुलामा प्रत्येक घरघरमा स्वयसेविका पुगि औषधी खुवाइने कार्यक्रम छ ।

यस्तै आउँदो १७ गतेदेखि १९ गतेसम्म झापा, मोरङ, सुनसरी, उदयपुर र कपिलवस्तुमा औषधी खुवाइने मन्त्रालयले जनाएको छ । बर्षौदेखि विश्वका धेरै ठाउमा प्रयोग हुनेगरेको हात्तीपाइले रोग विरुद्धको औषधी ढुक्क भएर खान स्वास्थ्य मन्त्रालयले सवैलाई आग्रह गरेको छ । हात्तीपाइले रोग विरुद्धको औषधी खान कतिपयले आनाकानी गर्ने गरेको पाइएपछि मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

तर यो औषधी दुई वर्ष नपुगेका बालबालिका, गर्भवती र ७ दिनसम्मका सुत्केरी, छारे रोगी तथा सिकिस्त बिरामीले भने खान नहुने मन्त्रालयले जनाएको छ । अरु व्यक्तिले खानासँगै वा खानापछि यो औषधी खान मिल्ने जनाइएको छ ।