२९ साउन , सिन्धुली। सिन्धुलीमा आज साँझ हायसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । सुनकोशी गाउँपालिका–३ गुठबजारमा हायसले मोटरसाइकललाई ठक्कर दिँदा बाबु घाइते र छोराको मृत्यु भएको हो ।

दुर्घटनामा धनुषा मिथिला नगरपालिका–९ निवासी ९ वर्षीय शिव कोइरालाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । काठमाडाँैतर्फ जाँदै गरेको बा३ख ८९३९ नंको हायसले सिन्धुलीतर्फ आउँदै गरेको ज१०प १९२७ नंको मोटरसाइकललाई ठक्कर दिएको प्रहरी नायब उपरीक्षक सुभाषचन्द्र बोहोराले जानकारी दिए ।

मिथिला नगरपालिका–९ निवासी ४० वर्षीय निरोज कोइरालाको घाइते भएका बाबुको खुर्कोटस्थित भरोसा अस्पतालमा उपचार भइरहेको छ । बालकलाई अस्पताल पु-याउना साथ मृत घोषणा गरेको उहाँले जानकारी दिए ।

दुर्घटनाको कारण भने खुल्न नसके पनि हायस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राजमार्गमा हायस, सुमोलगायतका साना सवारीसाधन सडक नियम विपरीत चल्दा दुर्घटना बढ्दै गएको छ ।

यसैबीच, सिन्धुलीमा केही दिनदेखि जिल्लाका विभिन्न भू–भागमा अविरल वर्षा जारी भए पनि पछिल्लो समयमा कुनै पनि अप्रिय घटना नघटेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सुभाषचन्द्र बोहोराले जानकारी दिए । छिट्फुट रुपमा कहीँ कतै सामान्य पहिरो गएको भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

वर्षात्का कारण दुर्घटनाका जोखिम भएका स्थानमा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ । खोला तथा नदी आसपासका जिल्लावासीलाई सदैव सावधानीपूर्वक बस्न आग्रह गरेको छ । रासस