६ जेठ, काठमाडौं ।
एक उम्मेदवारले आफू पराजित भए पनि जितेको दाबी गरेकी छिन् । काठमाडौंको टोखा नगरपालिकाको उपप्रमुखमा एमाले उम्मेदवारसँग ४८ मतले पराजित भएपछि कांग्रेसकी उम्मेदवार रजनी थापाले आफू हार्दाहार्दै जितेको बताएकी हुन् ।

‘म बिउ थिए हजुरहरुले रोपिदिनु भयो । हजुरहरुको मायाँ र सद्भावले यहाँ सम्म पुगेकी छु र आगामी दिनमा मलाई हुर्काउनु र बढाउनु हुन्छ भन्ने विश्वास छ । यो हाम्रो हार होइन, हाम्रो जीत हो किनभने हामी मनमा बस्न सफल भएका छौ जुन कहिले पनि परिवर्तन हुँदैन’ झिनो मतले हारेपछि उनले फेसबुक स्टाटसमा लेखेकी छिन्, ‘आदरणीय आमा बुवा दाजु भाई दिदि बहिनि र मित्रहरुलाइ धन्यवाद भन्नलाई पनि मसंग कुनै शब्द रहेन । मेरो, दुई हात जोडी सिर न्युराही सम्पूर्ण सहयोग गर्ने हातहरु र साथहरुलाई म मुरी मुरी धन्यवाद दिन चाहन्छु ।’

उनी अगाडी थप्छिन्, ‘जसको मैंले मन जित्न सकिनँ वहाँहरुको मन एकदिन अवस्य जित्ने छु भन्ने विश्वासका साथ अझै म दुई कदम आगाडी बढ्दै विकाश निर्माणका कामहरु लिएर हजुरहरुको घर दैलोमा आउदै छु, स्वीकार्नु होस् यदि कसैलाई आगामी दिनमा समस्या परेमा सर्वप्रथम मलाई सम्झिन आग्रह गर्दछु म हजुरहरुको दुःख र विकाश निर्माणको साथी बन्न चाहन्छु, स्विकार्नु होस् ।’ जितनजिक पुगरे पनि हारेपछि उनले सामाजिक संजालमा यस्तो लेखेकी हुन् ।

टोखामा मेयरमा एमालेका प्रकाश अधिकारीले आठ हजार ७ सय ४७ मत ल्याएर विजयी भएका थिए । पराजित कांग्रेस उम्मेदवार हरिहर अधिकारीले ७ हजार चार सय ६७ मत ल्याए ।

उपमेयरमा रजनीलाई पराजित गर्ने ज्ञानमाया डंगोलले आठ हजार एक सय ४८ मत ल्याइन् ।