२८ साउन, पाँचथर ।

बर्षाका कारण पाँचथरको फालेलुङ गाउँपालिका वडा नं ३ मेमेङको ताङलेपामा दुई दिनदेखि बेपत्ता भएकाहरुको खोजि कार्य जारी छ । निवाखोला लघु जलबिधुत गृहका अफरेटर बिष्णुभक्त राईसहित एकै परिवारका तीन जना हिजोदेखि बेपत्ता भएका थिए ।

निवाखोलामा आएको बाढीसहितको पहिरोमा बेपत्ता भएका उनीहरुलाई हिजोदेखि नै नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले खोजी कार्य जारी राखेको भएतापनि अहिलेसम्म पनि बेपत्ता भएकाहरुलाई भेट्न नसकिएको नेपाली सेनाको फिदिमस्थित भैरबी दल गणले जनाएको छ ।

पहिरोमा बेपत्ता भएकाको खोजी गर्दा तीन वटा नागरिकतासहितका सामान फेला परेको भएता पनि बेपत्ता परिवार फेला पार्न नसकिएको हो । सो पहिरोमा बिष्ण्ुा भक्त राईकी १३ बर्षीय छोरी गंगा राई र १२ बर्षीय नातिनी प्रिया राई बेपत्ता भएका छन् ।

सोही पहिरोमा परी बिष्णुभक्त राईकी श्रीमती सरिता राई घाइते भएकोले उनलाई उपचारको लागि जिल्ला सदरमुकाम फिदिमतर्फ पठाइएको जनाइएको छ । पहिरोमा परी सोही गाउँपालिका वडा नं ३ का अन्य तीन वटा लघु जलबिधत आयोजनामा क्षति भएकोले सो गाउँ हाल अन्धकार भएको स्थानीय सुरेन्द्र अधिकारीले बताए ।

यसैबीच आज परेको पानीका कारण सोही वडाको खोलाघारीमा २० परिवार पहिरोले बिस्थापित भएका छन् । पहिरोबाट विस्थापितलाई नजिकैको चौरीमा पाल टागेर राखिएको छ ।

पहिरोमा बेपत्ता भएका र मृत्यु भएकाहरुलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला दैबी प्रकोप उद्धार समितिको सहयोगमा नगद राहत, पालसहितका सामाग्री बितरण गरेको जिल्ला प्रशासन कार्यलय पाँचथरले जनाएको छ ।