१० फागुन, काठमाडौं ।

जर्मन नेता एडोल्फ हिटलरको नाम नसुन्ने सायदै होलान् । उनको इतिहासबारे पनि धेरै जानकार हुनुपर्छ । हिटलर सबैभन्दा धेरै इन्टरनेटमा खोजिने पात्रमा अहिले पनि पर्दै आएका छन् । उनका विषयसँग मानिसहरू निकै चासो राख्छन् ।

पछिल्लो समय फेरि अनलाइनमा सबैभन्दा बढी पढिएको समाचार बनेको छ, हिटलरबारे नै । किनकि, केही दिनअघि मात्र उनको टेलिफोन लिलामीमा बिक्री भएको छ ।

यो लिलामीचाहिँ जर्मनीमा होइन, अमेरिकामा भएको हो । अमेरिकामा भएको एक लिलामीमा नाम नखुलाई एक व्यक्तिले दुई लाख ५० हजार अमेरिकी डलरको बोली लगाएका छन् । उनले न आफ्नो पहिचान सार्वजनिक गरेका छन्, न यसबारे खुलाउन अनुमति दिएका छन् । हिटलरले प्रयोग गरेको रातो रङको टेलिफोन सेटमा स्वस्तिक चिह्न अंकित छ ।
सन् १९४५ मा द्वितीय विश्व युद्ध सकिएपछि बर्लिनको एउटा बंकरमा यो टेलिफोन भेटिएको थियो । यो टेलिफोन जसले लिलामीमा राखेको थियो, उसले यसलाई ‘अहिलेसम्मको विश्वको सबैभन्दा विध्वसंक हतियार’को संज्ञा दिएको थियो ।

जर्मनीसँग ‘सरेन्डर’ गरेपछि सोभियत संघका सैनिकले यो फोन बेलायतको ब्रिगेडियर राल्फ रेनरलाई उपहारस्वरूप दिएका थिए । यो फोनलाई अक्सनमा राख्ने अधिकारीमध्येका एक बिलले समाचार एजेन्सी एपीलाई भनेका छन्, ‘यो फोन जनसंहारको हतियार थियो ।

हिटलरले यही फोनबाट युद्धका आदेश दिएका थिए । यसैका कारण अत्यन्त धेरैको मृत्यु भयो ।’ उनले पनि यो फोन किन लिलामीमा राखियो र यसलाई कसले किनेका हुन् भन्ने पनि खुलाएनन् । आजको नयाँ पत्रिकामा खबर छ ।