श्याम रिमाल
८ फागुन, काठमाडौँ।

शिक्षा, समाजसेवा, वकालत र राजनीति गर्दै राजयोगमा पुग्नुभएका हितबहादुर प्याकुर्याल अहिले सुखको जिन्दगी बिताइरहेका छन् ।

तत्कालीन नेपाल युवक सङ्गठनका सचिव, बागेश्वरी गाविसका प्रधानपञ्चसमेत भएका राजयोगी हितबहादुर ‘धर्म’ योगी विसं २०१८ मा नरहरिनाथको प्रेरणाले गाउँमै बसी आफूले पढेको बागेश्वरी विद्यालयमा तलबविना नै प्रअ भई सेवा गर्न लागे । उनले विद्यालयका लागि पुस्तकालय पनि आफ्नै खर्चमा बनाइदिए । अहिले त्यो विद्यालयले सत्तरी वर्ष नाघ्न थालिसकेकोे छ । सानैदेखि परोपकारी भावना भएको र पूजापाठ गर्ने प्रवृत्तिका सानो हितबहादुरलाई मानिसहरुले धर्म उपनाम पनि राखिदिए । पूजापाठ नगरी त उनि कुनै भोजन पनि ग्रहण गर्दैनन्। हुन पनि उनी पाँचै वर्षमा स्वस्थानी कथा भन्न सक्ने भइसकेका थिए ।

आफू पशुबलि र हिंसा विरोधी भएकामा पनि उनलाई सन्तोष छ । माछामासु, अन्डा छाडेको पैँतालिस वर्ष र मदिरा छ वर्षअघिदेखि छाडेका उनि भन्छन्,“सबै जनावर गाईजस्तै हुन्, मानिसले आफ्नो शरीर तन्दुरुस्त राख्न मासु खानका लागि पशु हत्या गर्नु गौहत्या सरह हो, मानिसले आफूमा रहेको काम, क्रोध, लोभ, मोह, अहङ्कारलाई पो बलि दिनुपर्छ ।”

पृथ्वीमा मानव जस्तै अरु जीवजन्तु र पशुपक्षीको पनि बाँच्न पाउने हक स्थापित गराउन उनले नुवाकोटका वागेश्वरी, देवीघाट आदि स्थानमा पशुबलिविरुद्धको अभियान पनि सञ्चालन गर्दै आएका छन् । उनले धर्मका नाममा नुवाकोटमा सात मन्दिर पनि बनाइसकेका छन् ।

यो शरीर हाम्रो होइन भन्ने राजयोगी धर्म मानिस अशरीरी हुनुपर्नेमा जोड दिन्छन् । “मान्छेले छाडेर जाने त धर्म र कीर्ति नै हुन्, भोगविलासमा किन लाग्ने ?” उनि प्रश्न गर्छन् ।

नौ पटक राजनीतिक र अन्य कारणबाट कारावास यात्रा गरेका हितबहादुरले धेरै पटक बिनाअपराध ज्यान मुद्दा पनि भोगेका छन् । ती सब बिर्सेर उनि नुवाकोट र छिमेकी जिल्ला रसुवामा धारा, चौतारा, विद्यालय, सडक निर्माण जस्ता समाजसेवामै संलग्न भए । उनको सम्मान गर्दै गाउँलेले नुवाकोट तोपखानादेखि चोकदे हुँदै लच्याङ, ओखरे उर्लेनीसम्मको सडकको नामकरण नै ‘हितबहादुर मार्ग’ राखिदिए ।

प्रजापिता ब्रह्माबाबामा निराकार शिव परमात्माले दिव्य अवतरण भएर ब्रह्माकुमारी संस्थाको स्थापना भएपछि सुरु भएको निराकार ज्योतिर्विन्दु शिवबाबा प्रवेश गरी ज्ञानयोगका माध्यमबाट आत्माहरुलाई देवीदेवतासमान बनाइरहेको मान्यता ब्रह्माकुमारी र ब्रह्मकुमारहरु राख्छन् जो ब्रह्माकी अलौकिक पुत्री र पुत्र मानिन्छन् ।

तिनै ब्रह्मकुमार हितबहादुरले भक्ति सकी ज्ञानमार्गमा आएपछि आफ्नै घरपरिसरमा रहेको रुद्राक्ष वृक्षमा ब्रह्माबाबा(भगवान्)बाट दुई वर्षअघि ज्योतिदर्शन पाएका ‘धर्म’ बाबाको यो महावाणीलाई सधैँ सम्झन्छन्–यदि तिमी भगवान्को ध्यान राख्छौ भने उहाँले तिम्रो ध्यान राख्नुहुनेछ ।” त्यसैले त उनले ब्रह्मकुमारी संस्था, माउन्ट आबु मधुवन, राजस्थान र उसका शाखाहरुबाट धेरै सम्मान र दोसल्ला पाएका छन् ।

“सबै संसार र यहाँका धर्महरु ज्योतिर्विन्दुबाट नै रचना भएको हो, सबै सम्प्रदायले प्रकाश मानेका छन्, त्यो ब्रह्मा, विष्णु र महेश्वरका पनि रचनाकार हुन् ।” संस्थाको यो मान्यतालाई नै उनले राम्रोसँग बुझे र जीवनको आनन्द भोगिरहेका छन् । अठहत्तर वर्षमा पनि उनि चस्मा लगाउनुहुन्न, कान राम्रो सुन्छन्, शरीर तन्दुरुस्त छ । मधुवनका पहाड पनि उनि अरुभन्दा सहज रुपले चढ्छन् ।

मेची महाकाली जनसमन्वय दल, नेपाल देशभक्त पार्टी र नेकपा(एकीकृत) पार्टीमा संलग्न भई तत्कालीन रापंस र पछि संसद्मा पनि उम्मेदवारी दिएका उनि हाल स्वतन्त्र रहिआएका छन् । अब उनि बाबा र मृतात्माहरुसँग पनि वार्तालाप गर्न सकिरहेको जिकिर गर्छन् । आफ्ना पत्नी, छोराछोरी र आफन्त कोही आफ्ना नमान्ने हितबहादुर धर्मको अन्तिम इच्छा भने मधुवन(माउन्ट आबु)मै आफ्नो शरीर त्याग गर्ने हो । रासस