ट्रिङ्ग… टिङ्ग… फोनको घण्टीले निद्राबाट ब्युझिँए । मन नलाई नलाई उठाँए ।

हेल्लो ..

ओई अझै सुतेकी तँ ? ८ बजिसक्यो छिटो आइज न ।

अँ रोबोट अब उठेँ ।

९ बजेसम्म मेरो कोठामा आईज … अरु म केही जान्दिन ।

हुन्छ भन्न नपाउँदै उसले फोन राखी ।

रोबोट उर्फ दिक्षा मेरी अन्त्यन्तै मिल्ने साथी । ५ वर्ष अगाडि मात्र उसँग क्याम्पसमा भेट भाको । उमेरले मभन्दा सायद ६-७ वर्षले कान्छी होली तर धेरै व्यवहारिक, मिलनसार र मेहनती छे । अहिले हामीले सँगै एउटै कम्पनीमा काम गर्छौ । यसका अलवा उसले ३ वटा कलेज पढाउँछे । १०-१२ जनालाई होम ट्युसन पढाउँछे । त्यसैले त हामीले उसलाई रोबोट भनेर बोलाउछौँ । आफ्नो नी ख्याल गर बेला बेलामा हामीले सम्झाउँदा उसको जवाफ हुन्थ्यो तिमीहरुको र मेरा सिच्वेसन फरक छ यार ।

त्यो फरक सिच्वेसनको राज नत दिक्षाले भन्न चाही न त हामीले नै जवरजस्ती गर्यौं । तर ऊ आमा र बहिनीको तारिफ गरेर कहिल्यै थाकिन अनि बाबाको बारे कहिल्यै बोलिन ।

शनिबारको विदाको मौका पारेर उसले हामीलाई पार्टी दिंदैछे अनि आमालाई काठमाडौंमा घर उपहार । गाउँमा रहेकी आमालाई बोलाएकी छे । गाउँबाट आमा र बहिनी आइपुगुञ्जेल सबै तयारी सक्नु छ ।

हतार हतार दिक्षाको कोठातिर हानिए । धेरै साथीहरु आइपुगेका थिए । कत्ति ढिला गरेको ? प्लिज बी सिरियस…. रुन्चे स्वरमा उसले भनि मेरो लागि आज विशेष दिन हो ।

पार्टीको तयारी सबै सकियो । आगन्तुकहरुको उपस्थिती बाक्लो थियो । अब पर्खाइ थियो त केबल, दिक्षाकी आमाको … ऊ मिनेट मिनेटमा आमा र बहिनीलाई फोन गर्थी । ट्याक्सी ड्राईभरलाई बाटो बताइदिन्थी । मौसम जाडो थियो तर ऊ पसिनै पसिना भएकी थिई ।

आजको जस्तो उसको अनुहारमा अधैर्यता मैले कहिल्यै देखेकी थिइँन ।

बाहिर ट्याक्सीको हर्न सुन्नासाथ दिक्षा दौडिएर बाहिर गई हामी पनि पछि पछि लाग्यौं । ट्याक्सीबाट ओर्लिदैं हुनुहुन्थ्यो आमालाई ढाढस दिन उही पुगी दिक्षा ।

अग्लो कद, गोरो र बाटुलो तर अलि अलि मुज्जा पर्न थालेको मुहार, सिउँदोमा सिन्दुर अनि मुहारमा मन्द मुस्कान । कहिं देखे जस्तो कतै चिने जस्तो भान भयो तर मैले ठम्याउन सकिन । बहिनी चैं ठ्याक्कै दिक्षा ।

सबै रमाइलो तर्फ लागियो । पार्टीकै शिलशिलामा उहाँसँग (दिक्षाकी आमा) आँखा जुधिरह्यो । सायद उहाँलाई पनि मलाइ जस्तै चिने झैं भान भयो की ।

मन थाम्नै सकिन खाना खाने समयमा नजिकै गएँ । फिसिक्क हाँस्दै भने अब त गाँउ जान पाइदैन है । बोल्ने बाहाना नै चाहिएको थियो मलाई ।

अँ अब यतै बस्छु नानी ।

यो आवाज कता सुने कता सुने मनमा झन् कौतुहलता भयो ।

मैले हजुरलाई कतै चिने झैं लाग्यो नी ?

(मुसुस्क मुस्काउँदै) तर नानी मैले चाहीं चिने ।

कसरी ?

म माइत मै बसेनी घरतिरको सबै थाहा हुन्छ । हजुरको आमासँग मेरो कुराकानी भैरहन्छ ।

म झन् कौतुहलतामा फसेँ । एकोहोरो हेरीरहेँ मात्र ।

म माथी कुमार दाईको श्रीमती क्या ….जेठी ….

मनमनै सोचेँ ए… तीनै हुनेवाला छोराकी आमा ?

कुराकानी हुँदै थियो ठ्याक्कै दिक्षा आइपुगी ..कुरा त्यहीं रोकियो ।

रात परिसकेको थियो । सबै आआफ्नै घर लाग्यौं । विस्तारामा पल्टिएँ । पटक्कै निद्रा लागेन । अलिअलि उमेर ढल्किएको तर उस्तै लाग्यो उहाँ । कुमार दाईको विगतलाई कैलाउँदै जाँदा बिगतमा पुगेछु ।

त्यो दिन गाउँका सबै मान्छे विहे कै चटारोमा थिए । माथ्लाघरे कुमार दाइको विहेमा गाउँमा छुट्टै उमङ्ग थियो । मेरो मन पनि फुरुङ्ग थियो । अनि साह्रै अधैर्य पनि । एक त नयाँ बेहुलीले हेर्न अर्को मामाले ल्याइ दिएको जामा लगाउन ।

मामाले ल्याइदिएको जामा लगाएर गाउँभरी डुल्दै आमासँग बिहेघर पुगियो । आमाहरुको छेउछाउमा रत्यौलीमा नाचियो पनि । नाँच्न त कहाँ आउथ्यो र त्यहीँ जामा देखाउनको लागि हल्लिएको मात्र । त्यो बेलामा म जम्मा ४-५ वर्षकी थिँए होला ।

गोधुँली साँझतिर पञ्चेबाजा घन्काउँदै जन्ती बेहुली लिएर आए । बेहुलीको गृह प्रवेश र टीका टालो भयो तर पुरै अनुहार देख्न साह्रै मुश्किल पर्यो । बाक्लो सलको घुम्टो ओढेकी बेहुलीको निधार र नाक बाहेक अरु केही देखिएन । भोली विहानै हेर्न आउनु पर्ला भन्दै मन अमिलो पारेर आमासँग घर फर्किए ।

अर्को दिन म विस्तारा मै थिएँ । कुमार दाई त भाउजुलाई लिएर हाम्रो घर मै आउनु भारैछ । त्यो बेला पनि मान्यजनको आर्शीबाद लिन आफन्तकोमा जाने चलन थियो । दाईको आवाज सुन्ने वित्तिकै जर्याकजुरुक्क उठें अनि भाउजुलाई चिहाएँ । गोरो अनि बाटुलो अनुहार, रातो गुन्यु, टीका र सिन्दुरमा भाउजु त धपक्कै बलेकी ।

म उनलाई एकोहोरो हेरिरहेकी थिए अकस्मात दाईले भन्नु भयो – हुनेवाला छोराकी आमा कस्तो लाग्यो नानी ? म अवाक् भएँ । भाउजु निहुँरिनु भयो । धपक्क बलेको भाउजुको मुहारको चमक हरायो, कटक्क मुटु दुखे जस्तो, भत्भती छाती पोलेको जस्तो, मेसिनको तार चुडिँएको जस्तो अनि घामले ओइलिएको फुल जस्तो ।

केटाकेटी नै थिएँ मत मुसुस्क हाँस्दै गाउँ भरीमै राम्री भाउजु ल्याउनु भएको बाई यो दाइले त भनिदिएँ । दाइ गर्वका साथ हाँस्दै उकालो लाग्नु भो भाउजु चाँही पछि पछि ।

गाउँभरी ती भाउजुलाई कसैले नामले पुकारेनन् । ‘हुनेवाला छोराकी आमा’ले नै चिन्थे । संयोगवश ती दाई र भाउजुलाई छोरा भएनन् । वर्षौटे २ वटी छोरी जन्मे । दाइले छोराको आशमा दोस्रो विहे गर्नु भो ।

भाउजु २ वटै साना छोरीहरु लिएर माइती जानु भयो । त्यसपछि उहाँसँग मेरो भेट भएको थिएन । दोस्रो विवाहबाट पनि कुमार दाईलाई छोरा जन्मिएनन् । ३ वटी छोरी नै जन्मे ।

कसम आजसम्म पनि मलाई त्यी भाउजुको नाम थाहा छैन । बालमस्तिष्कमा परेको छाप नै ‘हुनेवाला छोराकी आमा’ हो । त्यो उमेरमा यसको अर्थ बुझ्ने कुरा पनि भएन र बुझ्ने प्रयास त झनै गरिन । आज सोच्दैछु छोराको आशमा दोस्रो विहे गर्ने कुमारहरु र बाबुको मायाबाट बञ्चित दिक्षाहरु कति होलान् है ?

दिक्षाले निभाएको जिम्मेवारी, उसले दिने माया के छोराको भन्दा कम छ त ? यो प्रश्नले आज आएर झस्कायो अनि हुनेवाला छोराकी आमा यो परिचयले तर्सायो ।